काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वाकयुद्ध सकिएको छैन । विशेष गरी प्रधानमन्त्री ओलीले भण्डारीलाई बेलाबेलामा कटाक्ष गरिरहेका छन् । भण्डारीले पनि ओलीको कार्यशैलीलाई लिएर आलोचना गरिहेकी हुन्छन् । भलै यी दुई नेताबीच सार्वजनिक आरोप- प्रत्यारोप जारी छ ।
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच एकै ठाउँमा बसेर छलफल गर्न नसक्ने अवस्था पनि होइन । तर दुई जनाबीच पछिल्ला केही दिनयता न भेटघाट भएको छ न त फोनमै संवाद । एकलाई लागेका जिज्ञासा अर्कोलाई सिधै सोध्न सकिन्छ । तर पूर्वराष्ट्रपति भण्डारीले आफूलाई दुई वटा प्रश्नको जवाफ ओलीले दिनुपर्ने बताउनुभएको छ । उहाँले पत्रकारहरुमार्फत् नै ती प्रश्न ओली सामु पठाउनुभएको हो । आफूले भने प्रश्न नसोध्ने उहाँको भनाइ थियो ।
विराटनगरमा हिजो सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनसँग असन्तुष्ट भएको विषयमा केही बोलिनन् । तर उनको बोलीमा अध्यक्ष ओलीप्रतिको आक्रोस भने देखिन्थ्यो । भण्डारीले भनिन्, ‘ओलीले असार १४ को कार्यक्रममा जे भन्नुभयो, अनि मदन भण्डारी फाउण्डेसनका बारेमा पछाडि जे भन्नुभयो, त्यसबारे तपाईंहरू जस्तै पत्रकारले उहाँलाई नै सोध्नुहोला। म चाहिँ अब सोध्दिनँ ।’
गत साउन ४ पछि आफूले ओलीसँग कुराकानी नगरेको उल्लेख गर्दै भण्डारीले भनिन्, ‘यदि तपाईंहरूलाई कुनै किसिमको डर लाग्दैन भने, लोकतन्त्रमा प्रश्न गर्ने अधिकार प्रयोगमा तपाईंहरूको रूचि छ भने, उहाँलाई प्रश्न सोध्नुहोला ।’
ओलीलाई पत्रकारहरूले सोध्ने प्रश्नको अन्तरवस्तु सिफारिस गर्दै उनले भनिन्, ‘तपाईंहरूको उहाँ (ओली) सँग भेट भइहाल्छ । त्यसेबला सोध्नुहोला । सर, तपाईंले मदन भण्डारी, जसलाई पार्टीले जननेता मान्छ, आफ्नो गौरव ठान्छ । जबजको प्रणेता मान्छ । उहाँको निधनको ३२ वर्षपछि असार १४ मा किन त्यसो भन्नुभयो? म चाहिँ उहाँलाई यसबारे सोध्दिनँ। डर लाग्दैन भने तपाईंहरूले सोध्नुहोला ।’
गत असार १४ अर्थात मदन भण्डारीको जन्मजयन्तीका दिन काठमाडौंमा आयोजित सोही कार्यक्रममार्फत मदन पत्नी विद्याले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने तयारी थियो ।
मदन भण्डारी फाउण्डेसन अध्यक्षसमेत रहेकी मदन–विद्या पुत्री उषाकिरण भण्डारी र उनकी आमा विद्या दुवै मञ्चमा रहेका बेला ओलीले एमालेका पुरानो र नयाँ पुस्ताले थाहै नपाएको लाञ्छनाको प्रसंग उठाएका थिए । त्यसदिन प्रधानमन्त्री ओलीले मदन भण्डारीविरूद्ध चारवटी श्रीमती विवाह गरेको र सहकारी ठगेर हिँडेको भन्नेसम्मको लाञ्छना लगाइएको प्रसंग निकालेका थिए ।
पत्रकारहरुसँग कुरा गर्ने क्रममा उनी मदन भण्डारी फाउण्डेसनसँग सम्बद्ध विषयमा आउँदै थिइन् । तर, उनले त्यस विषयमा उत्तर होइन, प्रश्न नै सिफारिस गरिन् ।
उनले भनिन्, ‘मदन भण्डारी फाउण्डेसनबारे पनि उहाँलाई तपाईंहरूले सोध्नुहोला । त्यसबेलाको पार्टी नेतृत्वले तपाईंलाई पार्टीभित्र ढिम्किन नदिँदा त्यही फाउण्डेसनले तपाईंलाई चौतारी दिएको हो कि होइन भनेर पनि उहाँलाई सोध्नुहोला ।’
उनले अगाडि भनिन्, ‘कुनै बेला मदन भण्डारी फाउण्डेसनलाई कसैले कर्के नजर लगाए म त्यसको आँखा फुटाइदिन्छु भन्नुहुन्थ्यो । त्यस्तोसम्म भन्ने तपाईंले आज फाउण्डेसनलाई किन त्यसो भन्नुभयो भनेर पनि तपाईं पत्रकारहरूले उहाँलाई सोधिदिनुहोला ।’
साउन २६ मा मदन आश्रित प्रतिष्ठानको अध्यक्षमा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीलाई सपथ गराउने क्रममा ओलीले फाउण्डेसनप्रति तीव्र असन्तोष प्रकट गरेका थिए ।
कुनै बेला ओली र भण्डारीबीचको सम्बन्ध यस्तो थियो कि एकले अर्कोलाई जुनसुकै बेला पनि सहयोग गर्ने मात्र होइन, एकले अर्कोलाई अघि बढाउनसमेत मद्दत गर्ने । तर अहिले दुई जनाबीचको सम्बन्ध औपचारिकतामा सीमित हुन थालेको छ । त्यति मात्र नभए एकले अर्कोसँग कुरा गर्न पनि सञ्चारकर्मीको साथ चाहिएको छ ।












