२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिजा गौतम एक महिनामै जनादेश पार्टी त्यागेर आजपा उपाध्यक्ष बनिन्



अ+ अ-

काठमाडौं । जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले पार्टी स्थापना भएको एक महिनामै पार्टी परित्याग गरेकी छन्। उनले आम जनता पार्टी (आजपा) मा प्रवेश गर्दै उपाध्यक्षको जिम्मेवारी पाएकी छन्।

आजपा अध्यक्ष प्रभु साहको नेतृत्वमा रहेको पार्टीमा प्रवेश गरेको जानकारी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, “म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”

पत्रकार ऋषि धमला की पत्नीसमेत रहेकी एलिजा, अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा गठन गरिएको जनादेश पार्टीमा केन्द्रीय सदस्यको सूचीमा थिइन्।

गत २५ कात्तिकमा निर्वाचन आयोग मा दल दर्ताका लागि निवेदन पेश गर्दा उनी पनि उपस्थित थिइन्। तर बुधबार उनले जनादेश पार्टी छाडेर आजपामा आबद्ध हुने निर्णय गरेकी हुन्।

नयाँ पार्टीमा आफ्नो भूमिकाबारे स्पष्ट पार्दै एलिजाले पार्टीलाई सबल र जनप्रिय बनाउन सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएकी छन्।

उनले सार्वजनिक गरेका आफ्ना ‘एजेन्डा’हरू निम्नानुसार छन्–

देशमा विकास गराउन पहल गर्ने

नेपाललाई सम्पन्न तथा समृद्ध बनाउने

भ्रष्टाचार गर्नेहरूलाई कडाइका साथ कारबाही गर्ने

सुशासन ल्याई जनताको काम समयमै हुने वातावरण सृजना गर्ने

भुइँमान्छेको एजेन्डा बोकेर अघि बढ्ने

जनताको पक्षमा काम गर्ने

व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितलाई सर्वोपरि राख्ने

पीडितको पक्षमा उभिएर न्याय दिलाउने

महिला सशक्तीकरणका लागि निरन्तर काम गर्ने

मजदुरको हितमा काम गर्ने