२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जिताको प्रष्टीकरणः रेशमजीसँग राजनीतिक मतभेद हो यो अंश, बहुविवाहको विषयको कुरा होइन



अ+ अ-

कैलाली क्षेत्र नं. १ लाई कसैले पनि स्वार्थ, षड्यन्त्र र सस्तो आरोपको अखडा ठानेर राजनीति गर्ने भूल नगरोस्। यहाँका जनताले धेरै देखेका छन्, धेरै भोगेका छन्, र कसले पीडाको राजनीति गर्‍यो र कसले जिम्मेवारी बोकेर काम गर्‍यो भन्ने कुरा राम्ररी बुझ्छन्।

२०७९ सालमा जनताले मलाई जनप्रतिनिधि बनाएपछि “के गरिस् ?” भनेर प्रश्न गर्नेहरूलाई म आज तथ्य र इतिहासका आधारमा जवाफ दिन चाहन्छु। म जुन एजेन्डा लिएर जनतामाझ गएको थिएँ, त्यो पूरा भयो कि भएन त्यसको जवाफ इमानदारीपूर्वक दिनुस्, हल्लाका आधारमा होइन।राजबन्दी रिहाइ कुनै संयोग थिएन, कुनै व्यक्तिगत सौदा थिएन।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्पष्ट राजनीतिक इच्छाशक्ति र म क्याबिनेट मन्त्रीको जिम्मेवारीमा रहँदा गरिएको ठोस पहल बिना त्यो निर्णय सम्भव नै थिएन।

जो आज सजिलै टिप्पणी गर्छन्, उनीहरूलाई सोध्न चाहन्छु—त्यो बेला तपाईंहरू कहाँ हुनुहुन्थ्यो ?हिजोको दिनमा थारू समुदायलाई योजनाबद्ध रूपमा हत्यारा सावित गर्न टेलिभिजन, रेडियो र मञ्च–मञ्चमा कराउनेहरूको इतिहास हामीले देखेकै हौँ। आज तिनै सोच बोकेकाहरू नयाँ शब्द र नयाँ आरोप लिएर फेरि देखापरेका छन्, तर इतिहास न मेटिन्छ, न मोडिन्छ।अब अझ स्पष्ट रूपमा अर्को आरोपको जवाफ दिन चाहन्छु।

मलाई र रेशमजीलाई “श्रीमान श्रीमतीको झगडा” भनेर दोष थोपर्नेहरूलाई। यदि साँच्चिकै हाम्रो व्यक्तिगत झगडा भएको भए, यदि यो घरायसी विवाद नै भएको भए, त्यो अंश मुद्दा, बहुविवाह मुद्दावा व्यक्तिगत कानुनी विवादका रूपमा देखिन्थ्यो होला। तर यस्ता कुनै पनि मुद्दा छैनन्। किनकि यहाँ व्यक्तिगत झगडा थिएन।राजनीतिक असहमति र परिस्थितिजन्य मतभेदलाईश्रीमान श्रीमतीको झगडामा झार्नुतर्कको होइन, राजनीतिक असफलता र कायरताको प्रमाण हो।आफ्नै जिम्मेवारीबाट पन्छिन अरूलाई दोष दिने काम नगरेकै राम्रो।

हिजो दाइ–भाउजू भन्दै हिँड्नेहरूलाई पनि सोध्न चाहन्छु— त्यो बेला मिलाउने, संवाद गराउने, जिम्मेवारी लिने ठाउँमातपाईंहरूले के भूमिका खेल्नुभयो ?अहिले परिस्थिति गाह्रो देख्दा आगोमा घ्यू हाल्न दौडिनु नैतिकता होइन।अब “रञ्जिता ले पद र कुर्सीको लागि थारू मुद्दा बिर्सिइन्” भन्नेहरूलाई पनि स्पष्ट जवाफ दिन्छु।रञ्जिता कुनै राजनीतिक पृष्ठभूमिबाट आएको व्यक्ति होइन।

म राजनीति गर्न जन्मिएकी होइन।म परिस्थितिले राजनीति गर्न बाध्य बनाएकी नारी हुँ।म त्यही नाबालक सम्हालेर बसेकी आमा हुँ,जसको बुवालाई २०७२ सालको टीकापुर घटनामा नहुनु पर्ने झुटो मुख्य आरोपी बनाइयो र देशबाहिर बस्न बाध्य पारियो। त्यो पीडाले मलाई राजनीतिमा ल्यायोकुर्सीको लोभले होइन,न्यायको खोजीले।राजनीतिक पार्टी दर्ता गरियो,मलाई अध्यक्षको जिम्मेवारी दिइयो,र त्यो जिम्मेवारी मैले सजिलो भनेर होइन,सबैभन्दा गाह्रो जिम्मेवारी भनेर स्वीकार गरेँ।

मैले पद खोजेकी होइन। मैले कुर्सी मागेकी होइन। मैले त झन् आफ्नो समय, श्रम, आत्मसम्मान र सहनशीलता दाउमा राखेर यो आन्दोलन जोगाएँ, अगाडि बढाएँ र सफल बनाएँ। यदि पदकै लोभ हुन्थ्यो भने यति आलोचना, यति चरित्र हत्या,
र नारी भएको कारण हरेक निर्णयमा प्रश्न खेपेर यो बाटो हिँडिरहनु पर्ने थिएन।

झुटा कथा बनाएर, झुटा मुद्दा थोपरेर एउटी नारी नेत्रीलाई बदनाम गराउने प्रयास केवल राजनीतिक अपराध होइन, यो नारीमाथिको योजनाबद्ध प्रहार हो। तर इतिहासले सधैँ एउटै कुरा देखाएको छ— झुटो प्रचारले केही समय हल्ला मच्चाउन सक्छ, तर अन्तिम फैसला समयले नै गर्छ।

समयसँग बहस कसैले जितेको इतिहास छैन। अन्त्यमा स्पष्ट भनिन्छ थारू मुद्दालाई प्रयोग गरेर नारीमाथि प्रहार नगर्नुस्। श्रीमान श्रीमतीको सम्बन्धलाई हतियार बनाएर राजनीति नगर्नुस्। जनताको पीडामाथि उभिएर सस्तो लोकप्रियता खोज्ने भ्रममा नबस्नुस्।

नागरिक उन्मुक्ति पार्टीबाट नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएकी नेतृ रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमा राख्नु भएको स्टाटस