काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट रमेश मल्ललाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले छलफलपछि मल्ललाई उम्मेदवार चयन गरेका हुन्।
सल्यानबाट उम्मेदवारीका लागि पूर्वमन्त्रीहरू प्रकाश ज्वाला र टेकबहादुर बस्नेतसहित मल्लले आकांक्षा राखेका थिए। तीनै जना आकांक्षीहरूसँग छलफल गरेपछि पार्टी नेतृत्वले मल्ललाई अघि सार्ने निर्णय गरेको हो।
मल्ल यसअघि अखिल क्रान्तिकारीको अध्यक्ष रहिसकेका छन्। उनी केही समय माओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिवका रूपमा पनि कार्यरत थिए।
नेकपाले यसअघि सल्यानबाट ज्वाला, बस्नेत र मल्लको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो।












