२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डसँगको खेलको आत्मविश्वासले इटालीसँग ढुक्क नेपाल



अ+ अ-

काठमाडौँ । टी-२० विश्वकप २०२६ को १७ औं खेलमा आज नेपालले इटालीसँग खेल्दैछ । मुम्बईको वानखेडे रंगशालामा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसोको ३ः१५ बजेबाट सुरु हुनेछ ।

समूह सी मा रहेका नेपाल र इटाली दुबै पहिलो जितको खोजीमा रहने छन् । यसअघि पहिलो खेलमा नेपालले इङ्गल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । इङ्गल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको टोली जितको नजिक पुगेर पनि ४ रनले पराजित भएको थियो ।

यता, इटाली पनि आफ्नो उद्घाटन खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इटाली एकअर्कासँग पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

नेपालसँग हाल सन्तुलित ब्याटिङ लाइनअप छ । ओपनर कुशल भुर्तेल आक्रामक सुरुवात गर्न सक्छन् । भुर्तेल २०२४ देखि नेपालको सर्वाधिक रन बनाउने खेलाडी हुन् ।  उनले २५ खेलमा १२८.०२ को स्ट्राइक रेटमा ७३१ रन बनाएका छन् । कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले मध्यक्रमलाई बलियो बनाउनसक्छन् ।

अघिल्लो खेलमा लोकेश बमले जोफ्रा आर्चर र आदिल रशिद जस्ता बलरहरू विरुद्ध पावर-हिटिङ प्रदर्शन गरेका थिए । उक्त खेलमा रोहित पौडेल र लोकेश बम दुवैले ३९/३९ रन बनाएका थिए ।

बलिङमा सन्दीप लामिछाने उत्कृष्ट फर्ममा छन् । सन्दीपले २०२४ को टी-२० विश्वकपदेखि १५ खेलमा ५.४१ को इकोनोमीमा ३० विकेट लिएका छन् ।

इटालीका कप्तान घाइते, ब्याटिङ खराब

टी–२० विश्वकपमा पहिलोपटक स्थान बनाएको इटालीले युरोप क्वालिफायर २०२५ मा उत्कृष्ट खेल्दै दोस्रो स्थान हासिल गरी विश्वकपको टिकट काटेको थियो । तर, इटालीको टी–२० विश्वकपमा डेब्यू निकै कठिन र खराब रह्यो । स्कटल्यान्डसँग ७३ रनले पराजित भएको इटाली दबाबमा छ ।

स्कटल्यान्डविरुद्ध खेलको पहिलो चार ओभरभित्रै कप्तान वेन म्याडसेन घाइते हुँदै मैदान छोड्न बाध्य भए । मुख्य प्रशिक्षक जोन डेभिसनका अनुसार चोटग्रस्त कप्तान म्याडसेनले टी–२० विश्वकपको लिग चरणका बाँकी खेलहरू गुमाउने सम्भावना रहेको छ ।

२०२४ को टी-२० विश्वकप पछि इटालीका सर्वाधिक रन बनाउने खेलाडी बेन मेनेन्टीको अर्धशतक र ह्यारी मेनेन्टीको छोटो इनिङ बाहेक कुनै पनि ब्याट्सम्यानले प्रभाव पार्न सकेका छैनन् । उनले ७ खेलमा १०६.८९ को स्ट्राइक रेटमा १५५ रन बनाएका छन् र ८.२२ को इकोनोमी रेटमा ८ विकेट पनि लिएका छन् ।

पिच रिपोर्ट

मुम्बईको वानखेडेमा टस जितेर पहिले ब्याटिङ गर्नु फाइदाजनक हुन्छ ।  यस स्टेडियमको पिच ब्याट्सम्यान-मैत्री पिच मानिन्छ । बाउन्ड्रीहरू छोटो छन् र आउटफिल्ड छिटो छ । तीव्र बलरहरूले सुरुवाती ओभरहरूमा केही स्विङ पाउन सक्छन्, तर खेल अगाडि बढ्दै जाँदा ब्याटिङ गर्न सजिलो हुँदै जान्छ ।