१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउँदै खरका छाना



अ+ अ-

रुकुमकोट । रुकुमकोटमा खरले छाएका घरका छाना विस्थापित हुँदै गएका छन् । ढुङ्गाका गारा, काठका ढोका, सानासाना झ्याल, घुमाउरा बार्दली र काठको बुइँगल हुने ती घरहरु पछिल्लो चरणमा हराउँदै गएका छन् । बुइँगलमा वर्षदिनको अन्न राखिन्थ्यो ।

घरका कुनै कुनामा तथा पिँढीमा जाँतो हुन्थे । आगनमा ढिकी हुन्थे । खरको छाना भएका ती घरका भित्ताहरु रातो माटो र कमेरोले पोतिएका हुन्थे । पिँढीमा बस्नका लागि मान्द्रो, मकैको खोस्राबाट तयार पारिएका चकटी, भेडाको ऊनबाट तयार पारिएका काम्लो लगायतका सामानहरु बिछ्याएर पाहुनाहरुको स्वागत गरिन्थ्यो । पछिल्लो समयमा एकपछि अर्को हँुदै ती पुख्र्यौली घर र सामानहरु लोप हुँदै गएका छन् ।

दुईतीन वर्षअगाडिसम्म जिल्लामा एउटा पनि पिल्लरवाला पक्की घर निर्माण भएका थिएनन् । पछिल्लो समयमा दुई वर्षभित्रैमा रुकुम (पूर्व)ले आफ्नो मुहार फेरेको छ । सदरमुकाम रुकुमकोटलगायत जिल्लाका अन्य ठाउँमा पनि धमाधम सिमेन्टका पक्की घरहरु बन्ने लहर चलेको छ । पुराना शैलीका घरहरु विस्थापित गर्दै मानिसले धमाधम पक्की घरहरु बनाउन थालेका छन् । नयाँ घरहरु नयाँ शैलीमै बन्न थालेपछि पुख्र्यौली घरहरु सङ्कटमा परेका हुन् ।

देशमा सङ्घीयता लागू भएसँगै नयाँ जिल्ला बनेको रुकुम (पूर्व)मा विकासको गतिसँगै परिवर्तन पनि छिटोछिटो हुँदै गएको छ । नयाँ जिल्लाको नयाँ सदरमुकाम बनेको रुकुमकोटमा नयाँ घर, नयाँ होटेल र नयाँ व्यवस्थापनले रुकुमकोटको स्वरुप नै फेरिएको स्थानीय बुद्धिजीवी कृष्ण रेग्मीले बताउनुभयो ।

आजभोलि गाउँघरमा कतैकतै मात्र खरको छाना भएका पुराना घरहरु देख्न सकिन्छ तर खरको छाना भएका नयाँ घरहरु भने कतै पनि भेटिँदैनन् । अधिकांश मानिसहरुले घरको छानो टिनले छाएका छन् भने कतिपयले पक्की घर बनाउँदैछन् ।

जिल्लाको सिस्ने गाउँपालिकाले २० वर्षे गुरुयोजना बनाउँदा पनि खरको छाना भएको नयाँ घर निर्माण गरेमा खरको छाना भएको घर बनाउनेलाई सात हजार नगद पुरस्कारले सम्मान गर्ने योजनासमेत पास गरेको थियो । गुरुयोजना निर्माण गरेको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म कसैले खरको छाना भएको घर निर्माण नगरेको र प्रोत्साहनस्वरुप प्रदान गर्ने भनिएको सात हजार रकम पनि कसैले नलिएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

गाउँघरमा जाँदा बूढापाकाहरुले ढुङ्गा माटोले बनेका र घरको छाना भएका घरमा जति आनन्द सिमेन्टका घरमा नहुने गरेको बताएका छन् । पहिले माटोको घरमा बस्दा दाउरा बालेर आगो ताप्ने घर नै न्यानो हुने गरेको सिस्ने गाउँपालिका–६ की भारती शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीमा शीतल, चिसोमा न्यानो हुने हुँदा स्वास्थ्यलाई पनि फाइदा हुने गथ्र्यो ।” अहिले बनेका सिमेन्टका घरहरुमा गर्मीमा सही नसक्नुको गर्मी र चिसोमा पनि सही नसक्ने चिसो हुुने गरेको उहाँको भनाइ छ ।

पछिल्लो चरण्मा पुराना शैलीका घरमात्र होइन, मौलिक पहिचान झल्कने संस्कृति, चालचलन, रीतिरिवाज, भाषा, कला पनि लोप हुँदै गएका छन् । पुख्र्यौली घरको ढाँचा, शैली र आकर्षणलाई कसैले पनि बिर्सन नहुने गाउँका बुद्धिजीवीहरु बताउँछन् ।