३ असार २०८३, बुधबार
,
Latest
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै



DCIM100MEDIADJI_0954.JPG
अ+ अ-

भोजपुर। भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।

हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ ।

भोजपुर नगरपालिका-१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ । यस सडकको सबैभन्दा विशेषता भनेकै यसको नागबेली आकृति हो । माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीयको भनाइ छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ । बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन् ।

स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहजता ल्याएको छ । आलु, मकै, अदुवा, फलफूललगायत कृषिउपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । साथै, सडक सञ्चालनमा आएपछि यहाँको व्यापार-व्यवसाय पनि विस्तार हुन थालेको छ ।

सडक छेउमा विश्रामस्थल, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट) निर्माण, सूचना बोर्ड जडान गरिएमा यात्रु तथा पर्यटकलाई सहजता हुने स्थानीयको भनाइ छ ।

आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार गर्न सकिएमा भोजपुर–बेहेरे सडक केबल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुनसक्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।  रासस