काठमाडौं । सत्तासाझेदार राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको दाबी गर्दै आपत्ति जनाउनु भएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले तराई÷मधेशका लाखौं नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नागरिकता सम्बन्धि ऐन अझै बन्न नसकेको स्मरण गराउनु भयो । अध्यक्ष यादवले संघीयताको कार्यान्वयन समेत इमान्दार ढंगले नभएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘संविधान घोषणा भएको यत्रो वर्ष भईसक्दा पनि अझै अझै संघीयता कार्यान्वयन गर्नका लागि प्रयास गरिएको छैन ।
संविधानमा एसो पल्टाउँदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल । तर संघीयताको कार्यान्वयन गर्न अहिलेसम्म संघीय निजामती ऐन समेत बनाउन सकेका छैनौं । नेपालमा आमा पनि जन्मसिद्ध नागरिक, पिता पनि जन्मसिद्ध नागरिक तर तर तीनका सन्तानलाई अझैसम्म नागरिकता दिइएको छैन । लाखौंलाख नागरिकहरु नागरिकताबाट सरकारले नै बञ्चित गरेको छ । मतदान गर्न दिएको छैन ।’
अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि अझै संघीय निजामती ऐन समेत आउन नसकेको गुनासो गर्नु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरुले पहाडैपहाड भएको मुलुकलाई भ्यू टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढन इन्जिनियरहरुलाई आग्रह गर्नु भयो । उहाँले दक्षिण एशीयाली मुलुकहरु प्राविधिकहरुको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढनै नदिने खालका सोचहरु आईरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।












