२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वपक्षीय बैठक: जुटे सबै दल, गुञ्जीयो एकै स्वर, ‘कालापानी हाम्रो हो, कूटनीतिक प्रयास थालौँ’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कालीनदीको मुहान लिम्पियाधुरा भएको तथ्य र राष्ट्रिय भावनाका आधारमा भारतसँग कूटनीतिक संवाद थाल्ने बताएका छन् । भारतले नेपाली भूमि कालापानीलाई गाभेर नयाँ नक्सा सार्वजनिक गरेको एक सातापछि बालुवाटारमा शनिबार आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भारतको स्वभाव बदलिएकोसमेत टिप्पणी गरेका छन् ।

भारतको गृह मन्त्रालयले गत शनिबार नेपालको कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसयता नेपालमा जनस्तरबाट चर्को दबाब सिर्जना भएपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका नेताले एकै स्वरमा कालापानी नेपालको भएको र सरकारले गर्ने कूटनीतिक प्रयासलाई सघाउने स्पष्ट पारेका थिए । सबैको प्रतिबद्धतापछि प्रधानमन्त्रीले यही भावनाअनुसार कूटनीतिक पहल लिने आश्वासन दिएका छन् ।

‘लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको छ । सरकारले यही राष्ट्रिय भावनालाई शिरोधार्य गर्दै दृढता र स्पष्टताका साथ कूटनीतिक रूपमा सीमा समस्याको समाधान गर्नेछ,’ बैठकमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै सचिवालयले भनेको छ । भारतलाई तथ्य र प्रमाणका आधारमा सम्झाएर नेपाली भूमि फिर्ता लिनेसमेत प्रधानमन्त्रीको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी कालापानी नेपाली भूमि रहेको र यसबारे भारतले गर्ने एकपक्षीय निर्णय मान्य नहुने स्पष्ट पारिसकेको छ । भारतीय विदेश मन्त्रालयले पनि कूटनीतिक रूपमा संवादमार्फत सीमा विवाद समाधान गर्न तयार रहेको धारणा सार्वजनिक गरिसकेको छ । भारतसँग कूटनीतिक संवादका लागि राष्ट्रिय सहमति कायम गर्न बोलाइएको बैठकमा सबैले एकै स्वरमा सरकारलाई सघाउने आश्वासन दिएका छन् ।

बालुवाटारमा कसले के भने ?
कूटनीतिक पहल लिनुस्, सघाउँछौँ: शेरबहादुर देउवा, सभापति, कांग्रेस
भारतीय सुरक्षा बल रहेको कालापानीलगायतको भूमि नेपालको हो । कालापानी पश्चिमको नदी महाकाली नदी हो । सो पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पूर्ण साथ रहनेछ ।

लिम्पियाधुरालाई सीमा मानेर समाधान खोजौँ: झलनाथ खनाल, पूर्वप्रधानमन्त्री
सुगौली सन्धिदेखि निर्धारण भएको नेपाल भारतको सीमालाई आधार मानेर अघि बढ्नुपर्छ । नेपालको सिमाना महाकाली नै हो भने त्यो नदीको मूल भई बग्ने शिर नेपालकै हो । त्यो भनेको लिम्पियाधुरा हो । लिम्पियाधुरा नेपाल भारत चीनको त्रिदेशीय बिन्दु हो । यसैलाई आधार मानेर सरकारले भारत–नेपाल सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधानको प्रयास गर्नुपर्छ ।

दललाई मात्र होइन, जनतालाई बुझाउनुस् : डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राप्रपा (संयुक्त)
लिम्पियाधुराबाट काली नदी निस्किएको हो । सन् १८२६ मा बनेको नक्सामा त्यो जमिन नेपालको हो भन्ने स्पष्ट छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको अध्यक्षतामा ०७२ सालमा बनेको समितिले अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो । त्यो सरकार र दलका नेताहरूले हेरेर मात्र हुँदैन, आमनागरिकलाई देखाउनुपर्छ ।

प्याकेजमा हल गरौँ: डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री
भारतसँग ऐतिहासिक रूपमै रहँदै आएका सीमासम्बन्धी विवादलाई दीर्घकालीन ढंगले हल गर्ने उपयुक्त अवसर यही हो । नेपालले महाकाली नदीको वास्तविक सिमाना कुन हो भन्ने कुराको तथ्य प्रमाण भरपर्दो ढंगले जुटाएर वार्तामा पेस गर्नुपर्छ ।

पुरानो समस्या हो, समाधान खोजौँ: महन्थ ठाकुर, संयोजक, राजपा
लिम्पियाधुरामा नेपाल र भारतको सिमानामा देखिएको समस्या धेरै पुरानो हो । दुई छिमेकी राष्ट्रबीचको वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्छ । उच्चस्तरीय राजनीतिक तवरबाट कूटनीतिक पहल गरी समस्या समाधानको बाटो रोज्नुपर्छ ।

भारतीय राजदूतलाई बोलाएर सोध्नुपर्छ: कमल थापा, अध्यक्ष, राप्रपा
कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने विषयमा नेपालभित्र कुनै विवाद आवश्यक छैन । प्रधानमन्त्रीले दुई विषयमा कूटनीतिक प्रयास गर्नुपर्छ । अतिक्रमित क्षेत्र कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाउने र भारतसँग सीमा विवाद सधैँका लागि टुंग्याउने । परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर नयाँ नक्साका सम्बन्धमा सोध्नुपर्छ ।

भारतलाई सम्झाएर भूभाग फिर्ता लिन्छौँ: प्रधानमन्त्री केपी ओली
लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको छ । सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताका साथ कूटनीतिक रूपमा सीमाका समस्या समाधान गर्न अग्रसर रहेको छ । सीमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्छ । भारतको व्यवहारमा परिवर्तन आएको छ ।

हिजो सिमानामा बाटो र बाँध बन्थे, आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु । हामी समग्र दक्षिण एसियामा समृद्धि, विकास र रूपान्तरण देख्न चाहन्छौँ । त्यसैले, यस क्षेत्रका मुलुकले यस्ता विवादमा अल्झिनु हुँदैन । नेपालले पर्याप्त तथ्य र प्रमाणसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि समस्या हुनेछैन । विवाद समाधान हाम्रा लागि मात्र हैन, भारतका लागि पनि आवश्यक छ ।

हिजोका भाषा र शैली स्वीकार्य छैनन् र आज सहनुपर्ने आवश्यकता पनि छैन । अब समग्र पक्षको छलफल गरिन्छ । यस विषयमा सरकार संवदेनशील छ । उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्छ । भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौँ । नयाँ पत्रिका दैनिकबाट