२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुटे बस दुर्घटना: ४० सिटे बसमा ७० यात्रु चढाउने चालक र सुरक्षा निकायको पनि गम्भीर त्रुटि



अ+ अ-

सुनकोसीमा बस दुर्घटना हुनुमा चालक र सुरक्षा निकायको पनि गम्भीर त्रुटि देखिएको छ । ४० सिटे बसमा ७० यात्रु खाँदिएका थिए । दोलखाको मागापौवाबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनास्थल पुगुन्जेलसम्म तीनवटा सुरक्षा चेकपोस्ट थिए । तर, क्षमताभन्दा झन्डै दोब्बर यात्रु खाँदिएको बस कहीँ पनि जाँच गरिएन । बरु चालक धनबहादुर श्रेष्ठले यात्रुसँग बाझाबाझ गर्दै अनावश्यक रूपमा बस कुदाए । अनियन्त्रित बस अन्ततः सुकुटेस्थित सुनकोसी नदीमा खस्यो र १८ जनाको ज्यान गयो ।

घाइते यात्रुहरूका अनुसार मुडेभन्दा तल १२ किलोमा आइपुगेपछि चालक श्रेष्ठले बस तीव्र गतिमा दौडाउन सुरु गरे । यात्रु डराएर चालकसँग बाझाबाझ गर्दै थिए, तर उनले सुनेनन्, कुदाइरहे । पुरानो गाडी तीव्र गतिले दायाँबायाँ गर्दै हल्लिँदै अनियन्त्रित भएपछि सुनकोसीमा खस्यो ।

बस दुर्घटनास्थल आइपुग्नु अगाडि खाडीचौरको जिल्ला ट्राफिक र सशस्त्र प्रहरी बलको अस्थायी चेकपोस्ट पार गर्नुपर्छ । बलेफी आएपछि प्रहरी चौकी नै छ । तर, तीनवटै सुरक्षा पोस्टमा बसका यात्रुको संख्याबारे चासो दिइएन ।

‘र्‍याफ्टिङ टिम’ जसले गर्यो ४० भन्दा बढी यात्रुको उद्धार: आइतबार दिउँसो १ बजेर १० मिनेट गएको थियो । सुकुटे बिच रिसोर्ट र रिभर–बेका र्याफ्टिङ टिमको गाइड टोली सुनकोसीको ट्रिप सकेर होटेलभित्र प्रवेश गरेर खाना खाने तयारी गर्दै थियो । टोलीका क्याप्टेन श्याम श्रेष्ठले मुखमा गाँस मात्रै के हालेका थिए, नजिकै गाडी ठोक्किएजस्तो ठूलो आवाज आयो । रिसोर्टबाट दुर्घटनास्थल सीधै देखिन्छ । ५० मिटरको दूरीमा गाडी पल्टेको देख्नासाथ श्रेष्ठले खाना खान छोडे । नदीबाट चिच्याहट र कोलाहल आवाज आएपछि उनले आफूसँग र्याफ्टिङ टोलीका अन्य गाइडलाई उद्धारमा खटाए ।

बस नदीमा खसेको पाँच मिनेटमै उनीहरूले उद्धारकार्य सुरु गरे । नदीको मुख्य भंगालोमा उत्तानो परेर डुबेको बा।२ख ७२४५ नम्बरको यात्रुवाहक बसबाट पाँच यात्रु आफैँ बाहिर निस्किसकेका थिए । उनीहरू आत्तिएर उद्धारका लागि चिच्याइरहेका थिए । सुकुटे बिचमा कार्यरत पहिलो बोटका श्याम श्रेष्ठ, राजकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ र सोनाम तामाङले क्षणभरमै डुबेको बसको पछिल्तिरको भाग तोडेर २० जनाभन्दा बढी यात्रुलाई बाहिर निकाले ।

उनीहरूले क्षतिग्रस्त बसमै बसेर उद्धार गरेका थिए । र्याफ्टिङ टिम चाँडो उद्धारमा नआएको भए नदीमा परेका सबैको ज्यान जाने सम्भावना पनि थियो । घटनालगत्तै उद्धारमा खटिनेमा टोली सुकुटे बिच र रिभर–वेका भाँडा माझ्नेदेखि कुकसम्म थिए ।

२० मिनेटपछि प्रहरीको टोली आइपुग्यो: दुर्घटना भएको २० मिनेटपछि बलेफीबाट प्रहरीको टोली आयो । प्रहरीले स्थानीयसँग मिलेर उद्धार कार्यलाई जारी राख्यो । तर, उद्धारको नेतृत्व र्याफ्टिङ टोलीले नै लिइरह्यो । सोही रिसोर्ट र होटेलमा कार्यरत कर्मचारीहरूको दोस्रो बोटले नदीमा बगिरहेको शव संकलन गर्‍यो ।

यज्ञनारायण श्रेष्ठको नेतृत्वमा भाइकाजी मगर, विकास माझी, सुभाष माझी, राम श्रेष्ठ र सानु मगरको टोलीले दुर्घटनास्थलबाट तीन किलोमिटर तल चेहेरेसम्म मृतकको शव संकलन गर्ने काम गर्यो । यो टोलीले बग्दै गरेका पाँचजनालाई उद्धार गरेको थियो । ‘हाम्रो टिम सक्रिय भएकाले बगेको शव संकलन गर्न सकियो,’ यज्ञनारायणले भने, ‘नत्र बगाएर टाढै पुर्याउँथ्यो ।’

६ वटा डुंगा र एउटा कायाक प्रयोग: उद्धार कार्यमा ६ वटा डुंगा र एउटा कायाक प्रयोग भएको थियो । घटनाको खबर सुन्नासाथ बलेफीबाट सुकुटे आएका स्थानीय र्‍याफ्टिङ गाइड सुमन भण्डारीले र्याफ्टिङ टोलीले जोखिम मोलेरै उद्धार कार्य गरेको सुनाए । ‘हामी नआएको भए महिला, वृद्धवृद्धा र बालबालिका कोही बँच्ने थिएनन्,’ उनले भने । दोस्रो बोटलाई फलोअप गर्दै तेस्रो बोटलाई पनि तुरुन्तै पठाइयो ।

सन्तोष श्रेष्ठ, सबिन लामा, अजय लामा, कैलाश लामा, अरुण चौधरी र चिरण लामाको तेस्रो डुंगा टोलीले उद्धारमा थप मद्दत गरेको थियो । अल्टिमेट डिस्सेन्टको एउटा बोट र एउटा कायाक, र्याफ्टिङ स्टार र माया बिचको एक–एक डुंगा नदीमा उद्धारका लागि स्ट्यान्डबाई राखिएका थिए । उद्धारमा सरकारी सुरक्षा फौजका अलावा सुकुटेका सबै स्थानीय गरिरहेको काम छोडेर आ–आफ्नै तरिकाले लागेका थिए ।

एक घन्टापछि सुकुटे आएको सशस्त्र र नेपाली सेनाको टोलीले राति अबेरसम्म थप उद्धारको काम गरेको थियो । ‘पाँचवटा शव बसभित्रबाट निकालेका थियौँ । बाँकी १० शव हाम्रै र्‍याफ्टिङ टोलीका साथीहरूले चेहेरेसम्म पुगेर जम्मा पारेका हुन्,’ र्याफ्टिङ टोलीका क्याप्टेन श्याम श्रेष्ठले भने ।

थप एक शव फेला, मृत्यु हुनेको संख्या १८ पुग्यो:दुर्घटनामा हालसम्म १८ को मृत्यु भएको छ । सोमबार दिउँसो सुुकुटे रिसोर्टछेउबाट थप एक शव प्रहरीले फेला पारेको छ । दुईजनाको उपचारको क्रममा धुलिखेल र शिर मेमोरियल हस्पिटलमा मृत्यु भएको थियो । घाइते ५१ मध्ये पाँचको मात्रै उपचार भइरहेको र अधिकांश अस्पतालबाट डिस्चार्ज भएको धुलिखेल अस्पतालले जनाएको छ ।

दोलखा शैलुङ गाउँपालिकाका सातजना अझै बेपत्ता छन् । शैलुङका नौजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दोलखा शैलुङका स्थानीयले सोमबार घटनास्थल सुकुटे आएर अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका आफन्तले सडक बन्द गरेको जिल्ला प्रहरीले बताएको छ । नयाँ पत्रिका दैनिकबाट