काठमाडौं । औषधि व्यवस्था विभाग र मन्त्रालयका प्रतिनिधिबीच आज औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल भएको छ।
छलफलका क्रममा क्यान्सरविरुद्ध प्रयोग हुने औषधिसहित इम्युनोसप्रेसन्ट औषधिको आपूर्ति तथा व्यवस्थापन सम्बन्धमा विभिन्न माध्यमबाट प्राप्त गुनासा, त्यसको वास्तविक अवस्था र समाधानका सम्भावित उपायबारे विस्तृत छलफल गरिएको बताइएको छ।
यस्तै, औषधि आपूर्तिको अनुमति प्राप्त गरेपछि पनि आपूर्ति नगर्ने पक्षहरूमाथि कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न विकल्पमाथि समेत छलफल भएको छ।
छलफलमा लाइफ सेभिङ ड्रग्स आयातका लागि अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला तीन वर्षमा त्यस्ता औषधिको आयात परिमाण, वार्षिक खपतको विवरण तथा यस्ता औषधि आपूर्तिका लागि अनुमति माग गर्दै पेस भएका निवेदनहरूको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागलाई निर्देशन दिइएको छ।
यसका साथै, औषधि व्यवस्था विभागसँग सम्बन्धित सफ्टवेयर प्रणाली सुधार, क्षमता विस्तार तथा वेबसाइटको विवरण नियमित अद्यावधिक गर्ने विषयमा पनि छलफल केन्द्रित भएको जनाइएको छ।











