२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनाप्रतिस्पर्धा सेनाले ल्यायो ३४६ करोडको जहाज



अ+ अ-

काठमाडौं । शनिबार इन्डोनेसियाबाट काठमाडौंमा अवतरण गरेको जहाजले नेपाली सेनाको हवाई क्षमता अभिवृद्धि गरे पनि आर्थिक अनुशासनमा सेनालाई थप कमजोर बनाएको छ । राज्यकोषको तीन अर्ब ४६ करोड लगानी भएको यो खरिद प्रक्रिया विनाप्रतिस्पर्धा सम्पन्न भएको छ । सेनाको यो शैलीले सार्वजनिक खरिद ऐन, नियमावली र आर्थिक पारदर्शितासम्बन्धी सम्पूर्ण नीति र सिद्धान्तको खिल्ली उडाएको छ । अढाई वर्षदेखि चलेको यो खरिद प्रक्रियामा अनियमितता भएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाए पनि सरकार र संसद्ले छानबिन गरेका छैनन् ।

सेनाको हवाई क्षमता अभिवृद्धि गर्न भन्दै जहाज किन्न ०७३ को अन्तिमबाट प्रक्रिया सुरु भएको हो । तत्कालीन मन्त्रिपरिषद्ले सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्तिसम्बन्धी कार्यविधिबमोजिम खरिद प्रक्रिया अवलम्बन गरी जहाज किन्न सेनालाई स्वीकृति दिएको थियो । २९ चैत ०७३ मा सरकारले स्वीकृति दिएको एक महिनामा अर्थात् ३० वैशाख ०७४ मा सेनाले जहाज खरिद सम्बन्धी सूचना जारी गरेको थियो ।

सेनाको नीति तथा योजना निर्देशनालयबाट तयार पारिएको जहाजको स्पेसिफिकेसन तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले स्वीकृत गरी खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । जहाज खरिदका लागि सेनाले तीन करोड ६ लाख २९ हजार अमेरिकी डलर अर्थात् करिब साढे तीन अर्ब नेपाली रुपैयाँ लागत अनुमान गरेको थियो । यति ठूलो खरिदमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी प्रतिस्पर्धा गराउनुपर्नेमा सेनाले चीनको पोली टेक्नोलोजी आइएनसी र इन्डोनेसियाको पिटी दिर्गान्तारा गरी जम्मा दुई कम्पनीसँग दररेट मागेको थियो ।

यी दुई कम्पनीमध्ये पनि चिनियाँ कम्पनीले आफ्नो दररेट पेस नै गरेन । त्यसैले एक्लो प्रतिस्पर्धी पिटी दिर्गान्तारासँग तीन करोड चार लाख अमेरिकी डलर अर्थात् तीन अर्ब ४६ करोड २२ लाखमा जहाज किन्ने निर्णय सेनाले गर्यो । यो कम्पनीले पनि लागत अनुमानको ० दशमलव ५ प्रतिशत मूल्य कम राखेर योजनाबद्ध रूपमा खरिद ठेक्का हात पारेको छ । यसरी विनाप्रतिस्पर्धा मिलेमतोमा जहाज खरिद सम्झौता भएको र सार्वजनिक खरिद ऐन उल्लंघन गरिएकोमा महालेखाले औँला उठाएको थियो ।

अझ पिटी दिर्गान्ताराको स्थानीय एजेन्ट भनिएको सूर्य एयर सपोर्ट प्रालिले आफ्नो ठेगाना, कर चुक्ता प्रमाणपत्र, प्रबन्धपत्र र उसले पाउने कमिसन नखुलाई ठेक्का पाएकोमा पनि महालेखाले प्रश्न उठाएको थियो । महालेखा परीक्षकको प्रतिवेदनले नै प्रश्न उठाएपछि यो विषयमा सेना र सरकारको स्पष्ट जवाफदेहिता हुन्छ । तर, जिम्मेवार निकायले यो विषय नसुनेजस्तो गरेका छन् । महालेखाको प्रतिवेदन फर्स्योट गर्ने जिम्मा संसद्को सार्वजनिक लेखा समितिको हो ।

सेनाको जहाज र हेलिकोप्टर खरिदको विषयमा अनियमितता भएको भनेर महालेखाले प्रतिवेदनमै उल्लेख गरेपछि लेखा समितिले बल्ल चासो राखेको छ । तर, गम्भीर छानबिन सुरु भएको छैन । ‘सेनाको जहाज खरिद प्रक्रियामा प्रश्न उठेपछि सार्वजनिक लेखा समितिको ध्यानाकर्षण भएको छ । महालेखाको प्रतिवेदन फर्स्योट गर्न गठित उपसमितिले यो विषयमा प्रारम्भिक छलफल पनि गरेको छ,’ समितिका सचिव रोजनाथ पाण्डेले भने ।

उपसमितिले यो विषयमा महालेखा परीक्षकको कार्यालय र नेपाली सेनासँग पनि जानकारी मागेको छ । सेनाले प्रक्रिया पूरा गरेर खरिद गरिएको दाबी गरेको छ भने महालेखाको कार्यालयले कैफियत देखिएकाले नै लिखित रूपमा औँल्याइएको जिकिर गरेको छ । ‘सेनाको जहाज तथा हेलिकोप्टर खरिदको विषय गम्भीर भएकाले उपसमितिले थप छलफलका लागि पूर्ण समितिमा लाने निर्णय गरेको छ,’ पाण्डेले भने ।

दुई इन्डोनेसियाली पाइलटले ल्याए जहाज: सेनाले दुई वर्षअघि गरेको सम्झौताअनुसार पिटी दिर्गान्तारा इन्डोनेसियाले बनाएको जहाज शनिबार बिहान १०:५६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको हो । पाइलट क्याप्टेन एस्थेर गायत्री सलेह र कोपाइलट एरभान गुस्टान्टोले जहाज ल्याएका हुन् । ‘हामीले अर्डर दिएपछि जहाज निर्माण भएको हो, सम्झौताअनुसार जहाज तयार भएको छ । हामीले त्यो भए-नभएको प्राविधिक परीक्षण र परीक्षण उडान गर्नेछौँ,’ प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने ।

सेनाका प्राविधिकले परीक्षण गरेपछि आगामी साता सेनाले जहाज औपचारिक रूपमा बुझ्नेछ । नयाँ जहाज ५१ जना यात्रु क्षमताको छ । सेनाका अनुसार तालिम, कार्गोलगायत उद्देश्यका लागि पनि यो जहाज प्रयोग हुनेछ । यसको १६ हजार केजी क्षमताको कार्गो बोक्ने क्षमता छ । सेनासँग अहिले बढीमा ३२ सय केजी कार्गो बोक्न सक्ने क्षमताका स्काई ट्रक मात्र छन् । ‘पाँच गुणा बढी सामान बोक्ने जहाज आएको हुनाले सामान ढुवानीका लागि यो थप प्रभावकारी हुनेछ,’ प्रवक्ता पाण्डेले भने ।

तर, खरिद प्रक्रियामा अनियमितता भएको विषयमा भने सेनाले तत्काल केही प्रतिक्रिया दिएको छैन । नयाँ पत्रिकाले सहायकरथी पाण्डेसँग जिज्ञासा राख्दा उनले भने, ‘तपाईंले उठाउन खोजेको विषयमा म स्पष्ट छैन, बुझेर मात्र प्रतिक्रिया दिन सक्छु । सम्बन्धित विभागमा बुझ्न मलाई समय चाहिन्छ ।’ यद्यपि यो विषयमा महालेखा परीक्षकको कार्यालय र नेपाली सेनाका प्रतिनिधिले सार्वजनिक लेखा समितिमा समेत आफ्नो जवाफ दिइसकेका छन् ।

सेनासँग हेलिकोप्टर र जहाज गरी अहिले १९ हवाई साधन रहेकोमा दुईवटा ग्राउन्डेड छन् । १२ सञ्चालनमा छन् भने पाँचको मर्मत भइरहेको छ । नयाँ जहाज थपिएपछि चालू अवस्थामा सेनाका १३ हवाई साधन रहनेछन् । अमेरिकी सहयोगमा नेपाली सेनाका लगि दुईवटा स्काई ट्रक ल्याइँदै छ । सैनिक प्रवक्ता पाण्डेका अनुसार २० डिसेम्बर (४ पुस) भित्रै स्काई ट्रक आउने निश्चित भएको छ । त्यसपछि पनि अमेरिकाले थप दुई स्काई ट्रक पठाउँदै छ । जसमध्ये एउटा सन् २०२१ र अर्को २०२२ मा आउँदै छ । यी सबै जहाज प्रकोपपछि उद्धार तथा व्यवस्थापनका लागि प्रयोग हुनेछ । नयाँ पत्रिका दैनिकबाट