काठमाडाैँ । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त राज्य अमेरिकाले केही विदेशी अधिकारीलाई भिसा नदिएको विषय विवादको केन्द्रमा पुगेको छ ।
ह्वाइट हाउसको विश्वकप टास्क फोर्सले भने सुरक्षा कारण देखाउँदै सोमाली रेफ्री र इरानी टोलीका केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति नदिने निर्णय उचित भएको स्पष्ट पारेको छ । विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु गियुलियानीले मङ्गलबार वासिङ्टनमा आयोजित एटलान्टिक काउन्सिलको कार्यक्रममा अहिलेसम्म ३५ वटा राष्ट्रिय टोली सफलतापूर्वक अमेरिका प्रवेश गरिसकेको जानकारी दिनुभयो ।
उहाँले कुनै पनि खेलाडी वा प्रशिक्षकलाई प्रवेशबाट रोकिएको नभएको उल्लेख गर्दै केही अधिकारीलाई मात्र विशेष सुरक्षा कारणका आधारमा भिसा अस्वीकार गरिएको बताउनुभयो । गियुलियानीका अनुसार विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरलाई दुरुपयोग गरेर अमेरिका प्रवेश गर्ने सम्भावित जोखिम रोक्न प्रशासनले कडा सतर्कता अपनाएको छ ।
उहाँले सुरक्षा र खेलकुदबीच आवश्यक सन्तुलन कायम गरिएको बताउनुभयो । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले एएफपीसँगको कुराकानीमा सोमाली रेफ्री ओमार आर्टानलाई भिसा नदिइएको पुष्टि गर्दै उहाँमाथि आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको आशङ्का रहेको दाबी गर्नुभयो । यही कारणले उहाँ अमेरिकी अध्यागमन नियमअनुसार प्रवेशका लागि अयोग्य ठहरिनुभएको अधिकारीको भनाइ थियो ।
सन् २०२५ मा अफ्रिकी फुटबल महासङ्घले वर्षको उत्कृष्ट पुरुष रेफ्री घोषणा गरेका आर्टान विश्वकपमा रेफ्री गर्ने पहिलो सोमाली बन्ने अपेक्षा गरिएको थियो । तर उहाँलाई अमेरिका पुगेपछि मियामी विमानस्थलबाटै फर्काइएको थियो । सोमालिया हाल राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध सूचीमा समावेश देशमध्ये एक हो । ट्रम्प प्रशासनले यो नीतिलाई व्यापक आप्रवासन नियन्त्रण अभियानको हिस्सा बताउँदै आएको छ । यसैबीच, संयुक्त राज्य अमेरिकासँग जारी तनाव र सैन्य द्वन्द्वका कारण इरानले आफ्नो विश्वकप तयारीको आधार शिविर अमेरिका नभई मेक्सिकोमा सार्नुपरेको छ ।
इरानी फुटबल महासङ्घले समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा रद्द गरिएको तथा टोलीका केही सहयोगी कर्मचारीले भिसा नपाएको जनाएको छ । गियुलियानीले भने सबै इरानी प्रशिक्षक र कोचिङ स्टाफलाई प्रवेश अनुमति दिइएको बताउनुभयो । यद्यपि केही इरानी अधिकारीलाई सुरक्षा मूल्याङ्कनका आधारमा अनुमति नदिइएको उहाँले बताउनुभयो । उहाँले ती व्यक्तिबारे विस्तृत जानकारी दिन अस्वीकार गर्दै आफूलाई प्रशिक्षक बताउने केही व्यक्तिको वास्तविक भूमिका फरक हुन सक्ने आशङ्का रहेको सङ्केत गर्नुभयो ।
उहाँका अनुसार राष्ट्रपति ट्रम्पले प्रतियोगितामा सहभागी सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न चाहनुहुन्छ । साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) सँग प्रत्यक्ष सम्बन्ध रहेका व्यक्तिले विश्वकपको अवसर प्रयोग गरेर अमेरिका प्रवेश गर्न नसकून् भन्ने विषयमा पनि प्रशासन सचेत रहेको उहाँको भनाइ थियो ।
विश्वकप सुरक्षाबारे बोल्दै गियुलियानीले हालसम्म प्रतियोगितालाई लक्षित कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको बताउनुभयो । तथापि अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको सक्रियता उल्लेखनीय रूपमा बढाइएको र प्रतियोगिताको अन्तिम खेल जुलाई १९ सम्म सुरक्षा अवस्थामाथि निरन्तर निगरानी जारी रहने उहाँले जानकारी दिनुभयो ।












