२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो



अ+ अ-

काठमाडाैँ । सरकारी निकायका वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री (एक्सेसिबिलिटी) उपकरणहरू समावेश गरिएको छ।

सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीका अनुसार दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटका सामग्री अझ सहज रूपमा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको हो।

सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ३० मा सरकारी एप तथा पोर्टलहरूलाई अपाङ्गता भएका व्यक्ति तथा कम प्राविधिक ज्ञान भएका नागरिकले पनि प्रयोग गर्न सक्ने गरी सरल बनाउने उल्लेख गरिएको थियो। सोही उद्देश्यअनुसार डिजिटल सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न तथा अपाङ्गता भएका व्यक्तिको सूचना प्राप्त गर्ने अधिकारलाई प्रभावकारी बनाउन यो सुविधा कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ।

हाल सरकारी वेबसाइट खोल्दा तलपट्टि मध्यभागमा ‘एक्सेसिबिलिटी टुल आइकन’ देखिन्छ। उक्त सुविधामार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार वेबसाइटको स्वरूप तथा सामग्री समायोजन गर्न सक्छन्। उदाहरणका लागि अक्षरको आकार सानो–ठूलो बनाउन, अक्षर र पृष्ठभूमिबीचको कन्ट्रास्ट बढाएर सामग्री स्पष्ट देख्न, तथा विभिन्न रंग फिल्टर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी फन्ट परिवर्तन गर्ने, अक्षर तथा हरफबीचको दूरी समायोजन गर्ने जस्ता विकल्प पनि उपलब्ध छन्।

यस्तै, प्रयोगकर्ताको सहजताका लागि माउस कर्सरको आकार सानो वा ठूलो बनाउन मिल्ने, वेबसाइटका सबै तस्बिर लुकाएर केवल पाठ मात्र पढ्न मिल्ने बनाउने, तथा चलायमान दृश्य र एनिमेसन रोक्ने सुविधा पनि राखिएको छ।

विभागका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन अनुसार विकसित यी वेबसाइटहरू किबोर्ड प्रयोग गरेर मात्र पनि सहज रूपमा सञ्चालन गर्न सकिन्छ। ‘स्किप नेभिगेसन’ लिंकको व्यवस्थाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य विषयवस्तुमा पुग्न सहयोग गर्छ भने महत्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा राखिएको ‘अल्ट टेक्स्ट’ले दृष्टिविहीन प्रयोगकर्तालाई सामग्री बुझ्न मद्दत पुर्‍याउँछ।

यसैगरी, फाराम भर्दा देखिने त्रुटि सन्देश (एरर मेसेज) र सुझावहरू पनि स्क्रिन रिडरमार्फत सजिलै सुन्न र बुझ्न मिल्ने गरी डिजाइन गरिएको छ। सर्च तथा सम्पर्क फारामजस्ता इनपुट क्षेत्रहरूमा स्पष्ट नाम र संकेतहरू राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई थप सहज हुने विभागले जनाएको छ। किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन स्थानमा रहेको छ भन्ने कुरा पनि स्पष्ट रूपमा थाहा पाउन सक्ने व्यवस्था गरिएको छ।

यसअघि गत वैशाखमा विभागले अपाङ्गमैत्री सुविधासहित सञ्चालित सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली अद्यावधिक गर्ने सम्बन्धी तालिम सञ्चालन गरेको थियो। सो तालिम विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीहरूलाई लक्षित गरी प्रदान गरिएको थियो।