४ असार २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआई कम्प्युट केन्द्र खोल्ने अर्थमन्त्रीको महत्वाकाँक्षी कदम, किन जोखिम लिँदैछन् ?



अ+ अ-

काठमाडौं: सरकारले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स – एआई) मा यस वर्ष ठूलो रकम लगानी गर्ने बताएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसदका हरेक सम्बोधनमा यस विषयलाई जोडतोडका साथ उठाइरहेका छन् ।

अर्थमन्त्री डा वाग्लेले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमा भनेका छन्, “आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउने लक्ष्यसहित देशकै पहिलो “सार्वभौम एआई कम्प्युट केन्द्र” स्थापना गर्नेछौं । काठमाडौंको स्यूचाटारमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौं । हजारौं एआई प्रोसेसिङ युनिट (जीपीयू) खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराउनेछौं ।”

अर्थमन्त्रीको यो महत्वाकाँक्षी योजना के हो, र यसले के कस्तो लाभ दिन्छ भन्नेमा धेरै सांसद अनभिज्ञ देखिन्छन् । उनीहरुले अर्थमन्त्रीको यो फ्लागसिप कार्यक्रमप्रति खासै चासोका साथ मन्तव्य राख्ने वा सुझाव र धारणा राखेका छैनन् । आफूलाई वैज्ञानिक भन्न रुचाउने महावीर पुनले समेत आफू सांसद हुँदासम्म यस विषयमा खासै बोलेका छैनन् ।

अनौठो त के भने अर्थमन्त्रीले यो परियोजनाका लागि बजेटमा केही उल्लेख गरेका छैनन् । अर्थमन्त्रीले यो परियोजनामा के कति लगानी गर्नेछ, लगानीका के कस्ता मोडेल अवलम्बन गर्नेछ वा यो परियोजना निर्माण सुरु कहिले हुन्छ र कहिलेसम्ममा काम सम्पन्न भएर कार्यान्वयनमा आउँछ भन्ने बारेमा केही बताएका छैनन् । यस परियोजनाका सरोकारवालाहरु समेत यसमा शसंकित देखिन्छन् । नेपालमा रहेका टेक कम्पनीहरुले पनि यसमा खासै चासो दिएको पाइन्न । निर्माणका लागि कुन मन्त्रालय वा निकाय जिम्मेवार हुने भन्ने बजेटमा उल्लेख नभएको यस परियोजनामा टाइमलाइन समेतकाे कुनै व्यवस्था छैन ।

यद्यपि यो परियोजनाका लागि राज्यले अर्बौं लगानी गर्नुपर्ने अध्ययनहरुले देखाएका छन् ।

के हो एआई कम्प्युट केन्द्र ?

यो एआई कम्प्युट केन्द्र खासमा शक्तिशाली कम्प्युटरहरु रहेको विशिष्टीकृत डाटा सेन्टर हो जसले एआई मोडेलहरुलाई ट्रेन गर्न र चाहेको नतिजा निमेषभरमै उपलब्ध गराउन सक्दछ । एआई आधारित अनुसन्धान, विकास र प्रयोगका सन्दर्भमा यस्तो केन्द्र उपयोगी हुने गर्दछ । सामान्यतया, साधारण वेबसाइटहरु भन्दा यसको प्रयोगको दायरा फराकिलो र जटिल हुने गर्दछ ।

यस्तो कम्प्युट केन्द्रमा उच्च प्रविधिका प्रोसेसिङ चिप्सहरु (जिपियु चिप्स) जडान गरिएका हुन्छन् जस्तै, एनभिडिया वा एएमडी । यी चिप्सले सामान्य कम्प्युटरको भन्दा उच्च गतिमा काम गर्ने क्षमता राख्छन् । साथै यस्ता सेन्टरमा ठूलो संख्यामा डाटा भण्डारण गर्ने र त्यसलाई चाहे बमोजिम ट्रेन गर्न सकिन्छ, र यो निकै छिटो हुने गर्दछ । उच्च गतिको नेटवर्क, कूलिङ र त्यही बमोजिमको विद्युत आपूर्ति यसका पूर्वशर्त हुन् । यसमा निहित हुने क्लाउड पूर्वाधारलाई अनुसन्धाता, स्टार्टअप र कम्पनीहरुले बाहिरैबाट पहुँच स्थापित गर्न पाउँछन् ।

सरकारले चाहेको के हो ?

सरकारले खासगरी नेपालका डेटालाई नेपालभित्रै संग्रहित गर्ने र त्यसबाट निर्णयहरु गर्न सक्षम हुने गरी वातावरण निर्माण गर्न चाहेको बुझ्न सकिन्छ । हालसम्म नेपालका डेटाहरु विदेशी कम्प्युटिङ क्लाउडमा संग्रहित भइरहेका छन् जुन राष्ट्रहितमा सामान्यतया हुने गर्दैन । अहिलेको युग नै डेटा हो, र यसको संग्रह, प्रयोगलाई देशभित्र गर्नु पर्दछ । महत्वपूर्ण एआई पूर्वाधार देशभित्रै तयार गर्नु नै सोभरेन एआई हो ।

छिमेकी मुलुक भारत समेत फ्रान्स, सिंगापुर, जापान, साउदी अरेबिया, युएई, क्यानडाले आफ्नै सोभरेन एआई पूर्वाधार निर्माणमा लगानी बढाएका छन् । भारतले इन्डिया¬एआई मिसन प्रारम्भ गरेको छ र यसका लागि अर्बौं डलर खर्च गर्दैछ । यी देशले एआई पूर्वाधारलाई सडक, विद्युत, सूचना प्रविधि जत्तिकै महत्वको पूर्वाधारका रुपमा लिएका छन् ।

लगानी कति पर्छ ?

एआई कम्प्युट केन्द्र खोल्नु र त्यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु निकै चुनौतीपूर्ण हुने गर्दछ । केन्द्रको क्षमताका आधारमा यसको लागत विश्लेषण गरिएको पाइन्छ । एक प्रविधि अखबारका अनुसार, एआई कम्प्युट केन्द्रको आकार, जिपियूको संख्या, प्रयोग गरिने चिप्सको प्रकार र आवश्यक सहायक पूर्वाधारका आधारमा यसमा गर्नुपर्ने लगानी टुंगो लगाउन सकिन्छ ।

उदाहरणका लागि, नेपालले २ हजार थान एनभिडिया कम्पनीका जिपियू राखेर एआई कम्प्युट केन्द्र खोल्न चाहेमा निम्न बमोजिम खर्च गर्नुपर्ने हुनसक्छ ।

१. जिपियू खरिद : करिब ६ करोडदेखि १० करोड डलर
२. सर्भर र नेटवर्किङ : २ देखि ४ करोड डलर
३. भवन, कूलिङ र विद्युत: २ देखि ५ करोड डलर
४. स्टोरेज र सफ्टवेयर : १ देखि २ करोड डलर

कूल लागत: ११ करोड देखि २१ करोड डलर (करिब रु. १७ अर्ब देखि ३२ अर्ब)

यो लगानी परल मूल्य हो । यसमा राज्यका करहरु जोड्ने हो भने यसको लागत अझ माथि जाने निश्चित छ ।

यसर्थ, सोभरेन एआई कम्प्युट केन्द्र निर्माणलाई नारामा मात्र सीमित नगरी निर्माण थाल्ने हो भने यसका लाभहानिलाई सर्वप्रथम अध्ययन गर्नु आवश्यक छ । यस्तो केन्द्र खोल्न सक्नु राष्ट्रकै प्रतिष्ठाको विषय भए पनि यो खर्च धान्न सकिने हो वा होइन भन्नेमा विचार गरिनु आवश्यक छ । यो विशाल केन्द्रको संचालनमा दक्ष जनशक्तिको पनि व्यवस्था गर्नु अपरिहार्य भएकाले सरकारका लागि यो सेतो हात्ती नबनोस् भन्नेमा बेलैमा ध्यान दिनु उपयुक्त हुन्छ कि ?

(अन्तरराष्ट्रिय प्रविधि समाचारको सहयोगमा तयार पारिएको)