काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरुले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो ।
अध्यक्ष राईले सुुकुम्बासीहरुले आफूहरु पहिला बसेको ठाउँमा नै सिटी प्लान गरेर पुनर्वास गराउँदा राम्रो हुने भनेकाले सरकारले उक्त कुरा अनुसार नै काम गरे हुने अध्यक्ष राईको भनाई थियो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धि अभिव्यक्ति संसदको रेडर्कबाट नहटेसम्म आफूहरुको विोध संसदमा जारी रहने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष राईले भन्नुभयो,‘प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ । र उहाँले आफनो कर्तव्यबोध गरेर संसदमा आएर हाम्रो केही प्रश्नहरुका उत्तर पनि दिनुहुनेछ । अर्को कुरा उहाँकै निर्देशनमा भन्ने हामीलाई जानकारी छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरुलाई बेघरबार बनाउनु भयो । बेहाल स्थिति छ । र अहिले कीर्तिपुरलगायतका राखिएका होल्डिङ सेन्टरहरुमा खाना, पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरु नै हुुनुहुन्छ पक्कै पनि । मैले उहाँहरुले आन्दोलन गरिरहेका दृष्य हामीले देखिरहेका छौँ ।’
अध्यक्ष राईले सहर व्यवस्थापनका लागि विनियोजन गरेको बजेट सुकुम्बासीहरुको पुनर्वासका लागि खर्च गर्न सरकारलाई सुझाव पनि दिनुभयो ।











