काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रकरणमा अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । तत्कालीन विभागीय मन्त्रीको हैसियतमा उक्त प्रकरणमा जवाफ दिन आयोगले बोलाएको हो । आयोगको अनुसन्धान अधिकृतको टोलीले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर ‘बयानका लागि हाजिर हुन आउनु’ भनी म्याद तामेल गरेको छ ।
आयोगले तीन दिन भित्र उपस्थित हुन पत्र पठाएको भएपनि राणाले इमेलबाट आफू विदेशमा रहेकाले तोकिएको समयमा उपस्थित हुन नसक्ने जवाफ पठाउनु भएको जनाईएको छ । उहाँले स्वदेश आएपछि मात्रै आयोगमा उपस्थित हुनसक्ने जवाफ दिनु भएको स्रोतले जनाएको छ ।
आयोगको सूचनामा भनिएको छ– ‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं १२, कोठा नं १२ टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानून बमोजिम हुनेछ।’











