काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने गरेको प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रश्तावप्रति लक्षित गर्दै उहाँले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा यस्तो प्रणाली सान्दर्भिक नहुने तर्क गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने बताउनु भयो ।
उहाँले लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिवद्धता नै शासन पद्धतिको सफलताको आधार भएकोमा जोड दिनुभयो ।












