काठमाडाैँ । वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सडक डिभिजन भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने मुग्लिन–नारायणगढ सडक खण्ड र कालिगण्डकी करिडोरका विभिन्न स्थानमा अपरेटरसहितका भारी यान्त्रिक उपकरण तयारी अवस्थामा राखेको छ।
डिभिजनका अनुसार अत्यधिक पहिरो जाने सम्भावना रहेका स्थानमा तत्काल पहिरो पन्छाएर सवारी आवागमन सुचारु राख्ने उद्देश्यले उपकरण तैनाथ गरिएको हो। यस व्यवस्थाले आकस्मिक रूपमा सडक अवरुद्ध भए पनि छिटो प्रतिक्रिया जनाई यातायात सञ्चालनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
सडक डिभिजनले मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याक–हो लोडर तयारी अवस्थामा राखेको जनाएको छ। त्यसैगरी सडक डिभिजन भरतपुर परिसरमा एक ब्याक–हो लोडर तथा कालिगण्डकी करिडोरमा एक लोडर तैनाथ गरिएको छ।
डिभिजनले वर्षायामभर सडकको अवस्थाको निरन्तर निगरानी गर्दै आवश्यक परे थप जनशक्ति र उपकरण परिचालन गर्ने जनाएको छ। साथै, वर्षायाममा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।












