२३ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । सांसदहरूले जनसुरक्षा, सुशासन, पूर्वाधार विकास र सामाजिक न्यायका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरूले वन्यजन्तुको आक्रमणदेखि प्रशासनिक बेथिति र विकास निर्माणमा देखिएका सुस्तताका बारेमा सरकारको जवाफ माग गरेका हुन् ।

सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्ती ‘ध्रुवे’को आक्रमणबाट आमा–छोराको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त हात्तीलाई तत्काल नियन्त्रणमा लिन माग गर्नुभयो । उहाँले नागरिकको जीवनको मूल्यमा वन्यजन्तु संरक्षण हुन नसक्ने भन्दै पीडित परिवारलाई उचित राहत र निकुञ्ज आसपासका बस्तीमा प्रभावकारी बारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद धर्मेन्द्र पाशवानले मधेस प्रदेशमा अपराधका घटना बढेको र अभियुक्तहरू खुला रूपमा हिँडिरहेको भन्दै सुरक्षा व्यवस्थामा प्रश्न उठाउनु भयो । सप्तरीको सुरुङ्गा नगरपालिकाका पीडितहरू न्यायको पर्खाइमा रहेको तर मुख्य अभियुक्त पक्राउ नपरेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद मिना सिंह रखालले कर्णाली प्रदेशमा भइरहेका सडक दुर्घटना र प्राकृतिक विपत्तिका घटनाप्रति सरकार संवेदनशील नभएको आरोप लगाउनु भयो । सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको, जुम्लामा चट्याङबाट मानवीय क्षति भएको र डोल्पामा सवारी दुर्घटना भएको उल्लेख गर्दै उहाँले घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो ।
सांसद महन्थ ठाकुरले चुरे विनासका कारण मधेसमा पानीका स्रोत सुकेको र खेतीयोग्य जमिन बाँझो रहेको भन्दै खानेपानीको हाहाकार समाधान गर्न सरकारले पहल नगरेकोमा आपत्ति जनाउनु भयो ।

सांसद रामकुमारी झाँक्रीले सरकारले सुशासनको नारा दिए पनि प्रशासनिक संयन्त्रमा अस्थिरता देखिएको टिप्पणी गर्नुभयो । उहाँले निजामती कर्मचारीहरूले धमाधम राजीनामा दिइरहेको र मन्त्रीहरूले कानून विपरित ठूलो सङ्ख्यामा सल्लाहकार नियुक्त गरी राज्यकोषमा भार पारेको भन्दै त्यसको लिखित जवाफ माग गर्नुभयो ।

सांसद रेखाकुमारी झाले निजी विद्यालयहरूले मनपरी शुल्क असुलिरहेको भएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको बताउनु भयो ।
सांसद रोशनी मेचेले विद्युत निर्यातको चर्चा भइरहँदा तराईका जनताले लो–भोल्टेज र अघोषित लोडसेडिङको समस्या झेलिरहेको बताउनु भयो । उहाँले चार दशक पुरानो वितरण प्रणाली सुधारका लागि आपत्कालीन कोष खडा गरी संरचनात्मक सुधार थाल्न ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

सांसद वासुदेव घिमिरेले माईतीघरमा आन्दोलनरत दृष्टिविहीनहरूमाथि प्रहरीले गरेको बल प्रयोगको निन्दा गर्नुभयो । सांसद समझना देवकोटाले विद्यालय व्यवस्थापन समितिमा राजनीतिक दलका सदस्यलाई प्रतिवन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयले नागरिकको राजनीतिक अधिकार कुण्ठित गरेको भन्दै त्यसलाई सच्याउन माग गर्नुभयो ।

सांसद सोमनाथ पोर्तेलले नगरकोट र बोडेका होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई पर्याप्त विकल्पबिना सडकमा अलपत्र पारिएको भन्दै सरकारको कडा आलोचना गर्नुभयो । उहाँले गरिब र सुकुम्बासीको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाउनु भयो ।