२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचुनावको एजेन्डा तय गर्दै दलहरू



अ+ अ-

सुनसरी । धरानमा उपमहानगरपालिकाको प्रमुख र एक वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि तयारीसँगै दलहरू मतदातासमक्ष पुग्न एजेन्डा तय गर्न जुटेका छन् ।

नगर प्रमुख तारा सुब्बा र ७ नम्बरका वडाध्यक्ष भुवन मोक्तानको निधनपछि दुई पद रिक्त छन् । निर्वाचन आयोगले मंसिर १४ गतेका लागि चुनावको मिति तोकेपछि नगरमा प्रमुख दलहरू सक्रिय भएका हुन् ।

कांग्रेसले अन्य साना दलहरूसँग चुनावी गठबन्धन गर्ने तयारी गर्दै छलफल गरिरहेको छ । ‘धरानमा कांग्रेसले विगतका चुनावमा चारतारे झन्डा गाड्न सकेको छैन,’ कांग्रेसका सुनसरी सभापति राजीव कोइरालाले भने, ‘अबको उपनिर्वाचनमा जसरी पनि विजय प्राप्त गर्न जागरण अभियान नै चलाउँदै आएका छौं ।’ सरकारको नेतृत्व गरिरहेको दलका कमी कमजोरीलाई निर्वाचनको मुख्य एजेन्डा बनाएर जनतामाझ जाने उनले बताए ।

दुवै पदका लागि कांग्रेस र नेकपाले आ–आफ्ना उम्मेदवार भने छनोट गरिसकेका छैनन् । त्यसैले आकांक्षी पनि आफ्नो नाम पार्न पार्टीका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी छन् । मतदाता आकर्षित गर्न विभिन्न आश्वासन, चुनावी एजेन्डा बोकेर दुवै दलले कार्यकर्ता लक्षित वडा भेला र टोल भेला सुरु गरिसकेका छन् ।

कांग्रेस नगर समितिले आगामी बुधबारदेखि तीन दिन बृहत् नगरसभा गर्ने भएको छ । पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय नेताहरू विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीलगायतले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभाले धरान घोषणापत्र जारी गर्ने नगर सभापति तिलक राईले बताए ।

अघिल्लो निर्वाचनमा नगर प्रमुखमा कांग्रेसका तिलक राई एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतको अन्तरले पराजित भएका थिए । राईले १६ हजार १ सय २ र सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएका थिए । क्रियाशील अधिकांश कार्यकर्ता कुनै न कुनै गुटमा विभाजन हुनुको नोक्सानी पार्टीले खेप्दै आएको छ ।

उपनिर्वाचन हुन २ महिना २२ दिन मात्र बाँकी छ । उम्मेदवार नतोकिए पनि एमाले र माओवादीबीचको एकीकरणपछि बनेको नेकपा हौसिएको छ । अघिल्लो चुनावमा माओवादी केन्द्रका उम्मेदवार ११ हजार १ सय ८० मतले तेस्रो स्थानमा थिए । उक्त मतको हिसाब हेर्दै माओवादी केन्द्रसँग एकता गरेकाले अबको उपनिर्वाचनमा सहजै विजय प्राप्त गर्नेमा विगतको एमालेका अगुवा ढुक्क छन् ।

पार्टीको चुनावी एजेन्डामा यसपटक सुकुम्बासी व्यवस्थापन गर्ने, भएका ठूला योजनाहरू बसपार्क, तीनकुने सुन्दर बस्ती विकास आयोजना, धरान खानेपानी आयोजना, स्मार्ट सिटी, धार्मिक र प्राकृतिक पर्यटन, शिक्षा स्वास्थ्य र खेलकुद र धरान हवाई मैदानलगायत रहेको नेकपाका नगर कमिटी अध्यक्ष नारायण सुवेदीले बताए ।

‘उपनिर्वाचनलाई लक्षित हामीले एकता प्रक्रियासँगै २० वटै वडा भेला सकेका छौं,’ उनले भने, ‘अहिले टोलस्तरीय भेला जारी छ ।’ कार्यकर्ताका लागि राजनीतिक प्रशिक्षणहरू पनि धमाधम चलाउन थालेको उनले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।