
सिरहा । संविधानले नै जातीय छुवाछुत र विभेदलाई बन्देज गरेको छ । तर, सिरहामा अभिभावकले सर्वसम्मत चयन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलित भएको भन्दै प्रधानाध्यापकले नै अस्वीकार गरेका छन् ।
लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छवारस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक तारिणीप्रसाद चौधरीले व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद सदायलाई अध्यक्ष स्विकार्न नमानेको अभिभावकहरूले बताएका छन् । अभिभावकहरूको भेलाले सदायलाई गत १७ मंसिरमा अध्यक्षमा चयन गरेको थियो । तर, अभिभावकले चुनेको अध्यक्षलाई प्रधानाध्यापकले अस्विकार गरेपछि १२ फागुनमा झडपकै स्थिति बनेको थियो । त्यसलगत्तै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि शिक्षा संयोजकसहितको उपस्थितिमा बसेको बैठकले समितिमा दुई सदस्य मनोनयन गर्यो, तर त्यसलाई पनि प्रधानाध्यापकले मानेनन् ।
आफू दलित भएकै कारण प्रधानाध्यापक चौधरीले १० महिनादेखि अध्यक्ष मान्न अस्वीकार गरेको अध्यक्ष सदायले बताए । विद्यालयमा अध्ययनरत एक सय ७७ विद्यार्थीमध्ये एक सय दुईजना दलित समुदायका छन् । समितिमा अध्यक्ष दलित चयन भएपछि प्रधानाध्यापक चौधरीले गाउँपालिकाबाट विद्यार्थीको पाठ्यपुस्तक, छात्रवृत्तिको रकमसमेत निकासा लिएका छैनन् । त्यसपछि मंसिर महिनादेखि प्रधानाध्यापक र अर्का एक शिक्षकको चैत महिनादेखि तलब रोक्का गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
गाउँपालिकाले सोध्यो स्पष्टीकरण तर प्रधानाध्यापकले टेरेनन्
१७ मंसिरमा समितिमा अर्जुन मण्डल, बविता दास र जलासी सदाय पनि मनोनित भएका थिए । समिति वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षक प्रतिनिधिसहित सात सदस्यीय बन्यो । समितिलाई पूर्णता दिन सात सदस्यले थप दुईजनालाई मनोनयन गर्नुपर्ने थियो । तर, प्रधानाध्यापकले समितिलाई पूर्णता दिन नमानेपछि स्थानीय दलित अभिभावकहरूले उनीविरुद्ध गाउँपालिकामा निवेदन दिए । त्यसपछि गाउँपालिकाले चौधरीलाई स्पष्टीकरण सोधेको अध्यक्ष रामबल्लभ साहले बताए ।
‘गाउँपालिकामा बोलाएर सोधपुछ गर्दा तीन दिनको समय मागे, तर त्यसवेला पनि उनले आफ्नो प्रतिबद्धता पूरा गरेनन्,’ साहले भने, ‘गाउँपालिकाबाट शिक्षा संयोजक र एक कर्मचारी खटाएर समितिलाई पूर्णता दिन बैठक राखिएको भए पनि प्रधानाध्यापक चौधरी नै आएनन् ।’ चौधरी अनुपस्थित भए पनि निमित्त प्रधानाध्यापकको उपस्थिति र शिक्षा संयोजक तथा गाउँपालिका कर्मचारीको रोहवरमा फागुनमा व्यवस्थापन समितिलाई पूर्णता दिइयो । तर, उनले चौधरीले यसलाई अस्वीकार गरेको गाउँपालिका अध्यक्ष साह बताउँछन् । ‘त्यसपछि चौधरीले गाउँपालिकासँग समन्वय गर्नै छोडेका छन्,’ साहले भने ।
प्रधानाध्यापक चौधरीले भने समितिका अध्यक्ष सदाय दलित भएका कारण आफूले अस्वीकार नगरेको दाबी गरे । ‘समितिको बैठकको माइन्युटसमेत मैले देखेको छैन, म अनुपस्थित भएको समयमा गाउँपालिकाले पत्र काटेर मनोनीत गरेको समितिलाई म मान्दिनँ,’ चौधरीले भने । गाउँपालिकाले व्यवस्थापन समितिका दुई सदस्य मनोनीत गर्न हस्तक्षेप गरेको आरोप पनि चौधरीले लगाए । विद्यार्थीको पाठ्यपुस्तक र छात्रवृत्तिको रकम बैंक खातामार्फत आउनुपर्ने, तर लहानमा एनसिसी बैंकमा खाता खोल्न समितिको निर्णय चाहिने भएकाले समस्या भएको चौधरीको भनाइ छ ।
लक्ष्मीपुर गाउँपालिका–४ का वडाध्यक्ष विद्यानन्द साह सुँडीले समितिको पदेन सदस्यको हैसियतले आफूले नै चारजना दलित अभिभावकलाई समितिमा प्रस्ताव गरेको बताए । वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षक प्रतिनिधिसहित सातजनाले थप दुईजनाको मनोनयन गरी नौजना पुगेपछि मात्र अध्यक्ष चयन गरिनुपर्ने धारणा राखे पनि पहिले नै अध्यक्ष चयन गरेकाले समस्या भएको साहको भनाइ छ ।
दलितहरूको प्रदर्शन र ज्ञापन
प्रधानाध्यापक चौधरीका कारण विद्यालयको वातवरण बिग्रिएको भन्दै स्थानीय दलित समुदायका सदस्यले बिहीबार प्रदर्शनसहित गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रमा विद्यालयमा बढ्दै गएको द्वन्द्व व्यवस्थापन गरी नियमित पठनपाठन, व्यवस्थापन समितिको पूर्णता र शिक्षक अभिभावक संघको गठन, विद्यार्थीलाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराइनुपर्ने, छात्रवृत्ति रकम यथाशीघ्र बाँडिनुपर्ने, बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने दोषीलाई कारबाही गरिनुपर्नेलगायत पाँचबुँदे माग गरिएको छ । जिल्ला हरवाचरवा अधिकार मञ्चले बुझाएको ज्ञापनपत्रको बोधार्थ लक्ष्मीपुरपतारी गाउँपालिका–४ नम्बर वडा कार्यालय, इलाका प्रहरी कार्यालय महेशपुरपतार, आधारभूत विद्यालय धन्छवार, शिक्षा विकास तथा समन्वय एकाइ सिरहालाई दिइएको छ ।
दलितलाई अध्यक्ष मान्दैनौँ भनेपछि झडपकै स्थिति बन्यो स: हरिप्रसाद सदाय, अध्यक्ष, आधारभूत विद्यालय व्यवस्थापन समिति
विद्यालयमा बहुसंख्यक दलित बालबालिका पढ्छन् । तर, व्यवस्थापन समितिमा पहुँचवालाहरूकै हालीमुहाली छ । त्यसैले प्रधानाध्यापक तारिणीप्रसाद चौधरीले मलाई अध्यक्ष मान्न अस्वीकार गरे । गत १२ फागुनमा उनले ‘दलितलाई अध्यक्ष मान्दैनौँ’ भनेपछि झडपकै स्थिति बन्यो । त्यसलगत्तै गाउँपालिकाको न्यायिक समितिमा उजुरी पनि दिएको छु । समितिमा दुई सदस्य मनोनयन गरेको निर्णय पनि प्रधानाध्यापकले मान्दैनौँ भनेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












