
काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ ।
१६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । श्रीलंकाको जितमा कामिल मिशराले ५५, अहान विक्रमासिंहले ३० रन र अविस्का थरिन्दुले अविजित २५ रन बनाए ।
२२ रन जोड्दा पहिलो विकेट गुमाएको श्रीलंकाले ५३ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो । तर लक्ष्य सामान्य भएका कारण उसले सहज जीत निकाल्यो । नेपालका लागि राशिद खानले दुई विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, पवन सर्राफ र सागर ढकालले समान १–१ विकेट लिए ।
यसअघि आर प्रेमादशा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएपछि श्रीलंकाले सामान्य चुनौती पाएको हो ।
नेपालका लागि रित गौतमले ५४ रन बनाएर आउट भए । त्यस्तै, कप्तान रोहितले ४७ रन बनाए । यी दुई खेलाडीले ९१ रनको साझेदारी गरे । तर रोहित आउट भएसँगै नेपाली पारी धरापमा पर्यो ।
रोहितपछि हरिबहादुर चौहान १२ रनमा रनआउट भए भने भीम शार्की पनि एक रनमा एल्बीडब्लु आउट भए । तर राशिद खान भने १५ रनमा अविजित रहे ।
श्रीलंकाका लागि दिलसान मदुशनका र नभोद दिनुश्रीले समान ३–३ विकेट लिए ।












