२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा न औषधि, न डाक्टर



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एक हजार जनसंख्याबराबर एक चिकित्सक हुनुपर्ने मापदण्ड तोकेको छ । तर, कर्णालीका एक डाक्टरलाई डब्लुएचओको मापदण्डभन्दा २४ गुणा बढी जनताको स्वास्थ्य सम्हाल्ने जिम्मेवारी छ । कर्णालीमा सरकारले एक डाक्टरको भागमा २३ हजार जनताको स्वास्थ्य सुम्पिएको छ ।

कर्णाली प्रदेशमा १२ सरकारी अस्पताल, १३ प्राथमिक स्वास्थ्य उपचार केन्द्र र तीन सय ३६ वटा स्वास्थ्य चौकी छन् । यी स्वास्थ्य संस्थाले १५ लाख ७० हजार जनसंख्यालाई उपचार सेवा दिनुपर्छ । एक सय १८ दरबन्दी भए पनि कर्णालीमा ६६ डाक्टर मात्र कार्यरत छन् ।

प्रदेश राजधानीकै अस्पतालमा दरबन्दीको आधा पनि छैनन् डाक्टर
अस्पताल हाँक्ने सुपरिटेन्डेन्ट १३ वर्षमा १४ जना फेरिए

कर्णालीको राजधानी सुर्खेतमा रहेको एक मात्र सरकारी अस्पतालमा दरबन्दीको आधा पनि डाक्टर छैनन् । ३० विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि १२ जना मात्रै कार्यरत छन् ।

विशेषज्ञ डाक्टर कम मात्रै होइन, लामो समय नटिक्ने समस्या पनि छ । स्थापनाको १३ वर्षमा अस्पतालको नेतृत्व गर्ने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमै १४ जना फेरिएका छन् । डाक्टरले सरुवा नमाग्दा पनि विभागले सरुवा गरिदिने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए ।

यो अस्पतालमा अन्य कर्मचारी दरबन्दीअनुसार छैनन् । ८८ कर्मचारीको दरबन्दी भएकोमा विशेषज्ञ चिकित्सकसहित ६२ जना मात्रै कार्यरत छन् । तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकारले हाल नाम बदलेर ‘प्रदेश अस्पताल’ बनाए पनि सेवा भने बदलिएको छैन । उपलब्ध जनशक्तिबाटै प्रभावकारी सेवा दिन प्रयास गरिरहेको खड्काले बताए ।

कालिकोट जिल्ला अस्पतालमा दैनिक एक डाक्टरले हेर्छन् सय बिरामी
कालिकोटमा पनि स्वास्थ्य सेवा नाजुक छ । जिल्ला अस्पतालमा चार डाक्टर भए पनि नियमित दुई वा तीनजना मात्रै अस्पताल उपस्थित हुन्छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कटक महतका अनुसार यी डाक्टरले दैनिक करिब दुई सय बिरामीको उपचार गर्नुपर्छ । सीमित स्रोत, साधन र जनशक्ति अभावमा बिरामीलाई गतिलो उपचार सेवा दिन कठिन रहेको उनले बताए । कालिकोट अस्पतालले आकस्मिक, प्रसूति र भिडियो एक्सरे सेवा दिँदै आएको छ । औषधि भने उपलब्ध रहेको महतले बताए ।

जाजरकोटका स्वास्थ्य चौकीमा डाक्टर, उपकरण र बेड छैनन्, बिरामीलाई चौरमा राखिन्छ र स्लाइनका बोतल झ्यालमा झुन्ड्याएर अहेवले गर्छन् उपचार

जाजरकोटका नागरिकको स्वास्थ्यमाथि राज्यले चरम खेलबाड गरेको छ । उपकरण र स्वास्थ्यकर्मी छन्–छैनन् भन्नेमा चासो नदिएको मात्रै होइन, भएकैले काम गरे–नगरेको अनुगमन पनि छैन ।

जुनिचाँदे गाउँपालिकाको गर्खाकोट स्वास्थ्य केन्द्रमा बिरामी बस्ने बेडसमेत छैन । स्लाइन लगाएका बिरामीलाई चौरमा राखेर बोतले झ्यालमा झुन्ड्याएर उपचार गरिन्छ । यहाँ एमबिबिएस तहको डाक्टरको दरबन्दी छ । तर, एक वर्षदेखि डाक्टर छैनन् । डा। पवन शाक्य अध्ययन बिदामा गएपछि रिक्त पदमा नयाँ डाक्टर आएका छैनन् । दैनिक आउने दर्जनौँ बिरामीलाई अहेबले चेकजाँच गरेर पठाउँछन् ।

त्यस्तै, नलगाड नगरपालिकाको दल्लीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सञ्जयकुमार यादव तीन महिनादेखि बिदामा छन् । उपचारका लागि धाउने बिरामी स्वास्थ्य केन्द्रको बोर्ड नियालेर फर्किन्छन् । नगरपालिकामा रहेका आठवटा स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएको प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए । बारेकोट गाउँपालिकाभर एउटा मात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, सरकारले खटाएका स्वास्थ्यकर्मी बस्न नमानेपछि करारमा नियुक्त गरिएका कर्मचारीले सेवा दिइरहेका छन् ।

कुसे गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकी छन् । तर, कुनैमा पनि एमबिबिएस डाक्टर छैनन् । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचार गर्न पनि जिल्ला अस्पताल धाउनुपर्ने अवस्था छ । जाजरकोमा ५० शड्ढयाको जिल्ला अस्पताल छ । तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य चौकी छन् । त्यस्तै एउटा आँखा अस्पताल, एउटा आयुर्वेद स्वास्थ्य केन्द्र र दुईवटा आयुर्वेद औषधालय छन् ।

डोल्पा अस्पतालमै छैन गर्भ जाँच्ने मेसिन, कार्यरत दुई डाक्टरमध्ये एउटाले बिरामी हेर्छन्, अर्कोले प्रशासन चलाउँछन्
डोल्पा जिल्ला अस्पताल आफै बिरामी छ । न उपकरण छन्, न त पर्याप्त चिकित्सक । दुई डाक्टरको दरबन्दी रहेको अस्पतालमा बिरामी जाँच्ने जिम्मेवारी एउटाको काँधमा छ । अर्का डाक्टर प्रशासन चलाउँछन् । विकट डोल्पामा दुर्गमबाट दुई–तीन दिन हिँडेर बिरामी आउँछन्, तर उनीहरूलाई समय दिएर जाँच्न र उपकरणको अभावमा आवश्यक परीक्षण गर्न सम्भव नभएको डा। मेलिना हमालले बताइन् । अस्पतालमा गर्भमा रहेको बच्चाको स्वास्थ्य जाँच गर्ने मेसिनसमेत छैन । प्रशासन सम्हाल्दै आएका अर्का डा. सिजन रावल अहिले जिल्लाबाहिर छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–८ का नर कटुवाल छोराको मुखमा आएको घाउको उपचार गर्न तीन घन्टा पैदल हिँडेर स्वास्थ्यचौकी पुगे । तर, स्वास्थ्यकर्मीले ‘यहाँ औषधि छैन, निजी मेडिकलतिर लैजानू’ भनेर फर्काइदिए । जिल्लाका स्वास्थ्य चौकीमा सामान्य रुघाखोकी र ज्वरोको औषधिसमेत छैनन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।