
धादिङ । बीस लाख फिरौती नदिए बमले उडाउने भन्दै धम्की दिने धादिङ बेनीघाट रोराङ–५ का २७ वर्षीय सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले स्युचाटार नागार्जुन–९ आदर्श नगरटोलकी रेन्जु त्रिपाठीसँग २० लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नदिए छोरीलाई सिध्याउने र घर पनि बमले उडाइदिने धम्की दिएका थिए । डराएकी त्रिपाठीले प्रहरीमा खबर गरेपछि कँडेल पक्राउ परेका हुन् । त्रिपाठी एकल महिला हुन् ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले त्रिपाठीको कमजोरी पत्ता लगाएपछि कँडेलले त्यसैलाई प्रयोग गरेको बताए । उनले भने, ‘त्रिपाठी एकल महिला हुन् । उनका एक छोरी छिन् ।
स्युचारटारकी स्थानीय उनीसँग केही रकम पनि छ । यो सबै नजिकबाट उसले नियालेको देखिन्छ । अन्ततः यसैलाई हतियार बनाएर फिरौती रकम मागेको देखिन्छ ।’
प्रहरीका अनुसार पीडित त्रिपाठी र फिरौती माग गर्ने कँडेल एकै टोलमा बस्दै आएका थिए । दोहोरो चिनजान भएका कँडेलले त्रिपाठीलाई दिदी साइनो लगाउँथे । फिरौती असुलीका लागि भने कँडेलले चिठीको प्रयोग गरेका थिए ।
कँडेललाई त्रिपाठीको कमजोरी छोरी भन्ने थाहा थियो । फिरौती असुलीका लागि उनले यसैलाई हतियार बनाए । यसका लागि धम्कीपूर्ण चिठी लेखे । चिठी लगेर त्रिपाठीको घरमा बस्ने भाडावालालाई दिए ।
भाडावालाले चिठी त्रिपाठीसम्म पु(याए । त्रिपाठीले जब चिठी खोलेर पढिन्, उनको मुटु काप्न थाल्यो । किनकि चिठीमा लेखिएको थियो, ‘बीस लाख रुपैयाँ बालाजु पुलमा लिएर आउनु । प्रहरी र आफन्तलाई जानकारी गराएमा र रकम नदिएमा छोरीलाई सिध्याइदिन्छु । घरमा समेत बम राखी उडाइदिन्छु ।
हतास भएकी उनले आफन्तसँग पीडा पोखिन् । आफन्तले प्रहरीलाई खबर गर्न भने । सोहीअनुसार उनले प्रहरीलाई खबर गरिन् । अन्ततः प्रहरीले फिरौती माग गर्ने कँडेललाई मंगलबार बालाजुबाट पक्राउ ग(यो । रकम आवश्यक परेकाले उनीसँग फिरौती माग गरेको बयान प्रहरीलाई दिएको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।
घटना सम्बन्धमा प्रवक्ता बोगटीले भने, ‘रकम आवश्यक परेकाले फिरौती मागेको बयानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । बाँकी तथ्य त्यसपछि खुल्नेछ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












