
काठमाडौँ । अण्डा उत्पादक किसानले बजार चलेकोभन्दा आधा मात्रै मूल्य पाएका छन् । अन्य व्यवसायमा जस्तै अण्डा उत्पादन क्षेत्रमा पनि बिचौलिया हाबी हुँदा किसानले मूल्य नपाएका हुन् । व्यवसायीका अनुसार अण्डाको लागत खर्च करिब १० रुपैयाँ पर्छ । किसानले ७ रुपैयाँमा बिक्री गर्छन् । उपभोक्ताले भने एउटा अण्डालाई १३ रुपैयाँ तिर्न बाध्य छन् ।
‘दाना महँगो हुँदा एउटै अण्डाको लागत १० रुपैयाँ पुग्छ । बिक्री गर्दा ७ रुपैयाँ मात्रै पाएका छौं । ३०र४० हजार रुपैयाँका लागि फेरि खाडी जानुपर्ने अवस्था भएको छ,’ लुभूका कुखुरापालक बलराम सत्यालले भने, ‘यही अवस्था रहे किसान मर्ने कि बाँच्ने अवस्थामा पुग्ने भयो ।’ उनका अनुसार किसानले समयमै रकम नबुझाए दाना व्यवसायीले दाना उपलब्ध गराउँदैनन् । दानाको मूल्य लगातार वृद्धि भइरहेको उनले जानकारी दिए ।
‘एक बोरा दाना (५० किलो) लाई २८ सय रुपैयाँसम्म तिर्न बाध्य छौं,’ उनले भने, ‘अण्डाको धेरै मूल्य चाहिएको होइन । महिनाको ३०र४० हजार रुपैयाँ भए पुग्छ ।’ यही अवस्था रहे अण्डा सडकमा फाल्नुपर्ने बाध्यता आइलाग्ने उनले बताए । बिचौलियाबाट रोक्न अण्डाको एउटै मूल्य हुनुपर्ने बताए । अण्डाको मूल्यसँगै सरकारी अनुदानबाट पनि वञ्चित रहेको उनको अनुभव छ । ‘२ हजारबाट सुरु गरेको व्यवसायमा अहिले १० हजार कुखुरा पालेको छु,’ मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘सरकारबाट एक रुपैयाँ पनि अनुदान पाइएन ।’
कैलालीका घोडाघोडी पोल्ट्रीका पहल देउवाको मूल्य बढ्दा मूल्य बढाउनुपर्ने बताए । वितरकहरूले किसानलाई मूल्य नदिएको उनको गुनासो छ । कुखुरामा साना किसानले लगानी गरेका छन् । तर, किसानहरू सडकमा आउने अवस्था भइरहेको उनले गुनासो गरे । ‘साना किसानलाई सहयोग पनि चाहिन्छ । तर, सरकारबाट कुनै सहयोग छैन,’ उनले भने, ‘बिचौलियका कारण किसानहरू थप समस्यामा परे ।’
कुखुरा व्यवसायी अभिषेक घर्तीले किसानको मिहिनेतरपसिना बिचौलियाले खाएको बताए । दाना उद्योगको एकाधिकार हुँदा समस्या किसानले मूल्य पाउन नसकेको उनको भनाइ छ । ‘दाना उद्योगको केही स्वार्थ छ । एक बोरा दानाको २८/२९ सय रुपैयाँ पर्छ,’ उनले भने, ‘किसान नै नरहे दाना उद्योग रहँदैन । त्यसमा बिचौलियाले पनि फाइदा लिने प्रवृत्ति छ ।’
चिसापानीका कुखुरापालक सुरज थापाले पनि दानाको भाउ बढेकाले अण्डाको मूल्य पनि समायोजन हुनुपर्ने बताउँछन् । ‘१ रुपैयाँ लगानी गरेको ठाउँमा लागत खर्च ४० पैसा मात्रै उठ्यो । उत्पादक र वितरकमा पनि मूल्य फरक–फरक देखियो,’ उनले भने, ‘यस्तो अवस्थामा अण्डा फाल्न बाध्य हुन्छौं ।’ उनका अनुसार वितरकले मूल्य घट्ने बेला अण्डा चाँडै उठाउने । तर, मूल्य बढ्ने बेला अण्डा नउठाउने प्रवृत्ति छ । यसलाई सुधार गर्नुपर्ने उनले बताए ।
मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले पनि अनुदान चिल्लो गााडीरसुट लगाउनेलाई मात्रै भएको आरोप लगाए । व्यवसायीबाहेक गैरव्यवसायीले पाएकाले अनुदान प्रणाली नै खारेज गर्नुपर्ने बताए । ‘अनुदान साना किसानले पाएकै छैनन्,’ उनले भने, ‘किसानको नाममा गैरकिसानले पाउने अनुदान खारेज गर्नुपर्छ ।’
नेपाल अण्डा उत्पादक संघले पनि लागत नउठ्ने जनाएको छ । ‘अण्डा उत्पादनमा किसानको लागत मूल्य औषतमा प्रतिगोटा १० रुपैयाँ ३० पैसा पर्छ,’ संघका अध्यक्ष अध्यक्ष शिवराम केसीले भने, ‘दानाको भाउ बढ्दा किसानको लागत खर्च उठेन । किसान मर्कामा परे ।’ उनका अनुसार किसान र उपभोक्ताबीच करिब ५ तह छन् । ठूला सहरमा किसानबाट होलसेलले खरिद गर्छन् ।
त्यसपश्चात् रिटेलर, रिटेलरबाट साइकल पसलमा बिक्री हुन्छ । साइकल पसलबाट किराना पसलमा अण्डा पुर्याइन्छ । यसरी विभिन्न तह हुँदा किसानले लागत मूल्य नपाउने र उपभोक्ताले चर्को मूल्य असुल्ने बाध्यता रहेको जनाएको छ । साना सहरमा भने किसान, होलसेल र किराना पसलमा नै बिक्री भएको संघको दाबी छ ।
संघका अनुसार हाल दैनिक २८ लाख अण्डा उत्पादन हुन्छ । उक्त परिमाण मागभन्दा बढी हो । उत्पादन गत वर्षको तुलनामा वृद्धि भएको छ । ‘ह्याचरीको चल्ला उत्पादनको हिसाबले ३० प्रतिशत बढेको छ । चल्लाको आधारमा अण्डाको उत्पादन पनि बढेको छ,’ अध्यक्ष केसीले भने, ‘उत्पादन बढी हुँदा किसानबाट छिटो उठेको छैन ।’
उनका अनुसार अण्डाको गुणबारे उपभोक्तालाई सचेत गराउन नसक्दा पनि बिक्री हुन सकेन । जसले गर्दा बजारमा समस्या देखिएको संघको बुझाइ छ । ‘काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेलगायतका किसान पनि संगठित भएनन्,’ उनले भने, ‘मूल्यको विषयमा संघर्ष समिति बनाउने निर्णय गरेका छौं । समितिले उपभोक्ताले तिर्नुपर्ने अधिकतम मूल्यलाई न्यूनीकरण र किसानले पनि मूल्य पाउने वातावरण बनााउनेछ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।












