
काठमाडौं । बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन्।
साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए।
पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम फसेको छ। सहकारीका सञ्चालकले ब्याज त परै जाओस् साँवासमेत फिर्ता दिन आलटाल गरेपछि निक्षेपकर्ताहरू रकम फिर्ताका लागि दौडधुपमा थिए।
गत पुस १५ मा वडा नम्बर ५ का अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी र पीडितबीच बूढानीलकण्ठस्थित प्रहरी एकाइमा छलफलसमेत भएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।












