२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानीपोखरी पुनः निर्माणका लागि चौथो पटक बोलपत्र



अ+ अ-

काठमाडौँ । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ ।

भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आह्वानको तयारी गरेको हो ।

भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गर्नुभए पनि निर्माण कार्यले अहिलेसम्म गति लिन सकेको छैन । कामपाले पहिलो पटक बोलपत्र आह्वान गरी पुनःनिर्माण गर्दा आधुनिक सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि निर्माण कार्य रोकिएको थियो ।

त्यस्तै दोस्रो पटक बोलपत्र आह्वान गरे पनि कामपाको मागअनुरूप बोलपत्र प्राप्त नभएकाले काम अघि बढ्न सकेन । तेस्रो पटक आह्वान गरिएको बोलपत्रमा निर्माण कम्पनीले कामपाले तोकेको भन्दा बढी रकम देखाएपछि रद्द भएको हो । कामपाले रु १२ करोड ६६ लाख तय गरे पनि निर्माण कम्पनीले कामपाले निर्धारण गरेको भन्दा ११ प्रतिशत बढी रकम लाग्ने बताएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

डङ्गोलले भन्नुभयो, “यसै साताभित्र रानीपोखरी पुनःनिर्माणका लागि चौथो पटक बोलपत्र आह्वान गर्ने तयारी कामपाले गरेको छ, आशयपत्र पेश गर्ने समय यस अघिको जति लामो हुनेछैन ।” निर्माणका लागि इच्छा देखाएका कम्पनीले तोकिएको भन्दा बढी रकम देखाएपछि चौथो पटक निर्माणको तयारीमा कामपा जुटेको हो ।
यही पुस १० गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी तिहारसम्ममा रानीपोखरी निर्माणको काम सम्पन्न हुने बताए पनि त्यस किसिमको वातावरण देखिँदैन । कामपा र पुरातत्व विभागबीच सकारात्मक समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन नसकेको हो ।

भूकम्प जानुअघि रानीपोखरीको स्वरूप जस्तो थियो सोही अनुरूप निर्माण कार्य छिटो गर्न समयसमयमा सम्पदाप्रेमी र राजनीतिक दलका प्रतिनिधिले कामपाका प्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र पनि पेस गरेका छन् ।

पुनः निर्माणसम्बन्धी विवाद समाधान गर्न गत वर्ष पुस १३ गते गठन गरेको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो ।
प्रताप मल्लले छोरा चक्रवर्तीन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले छोरा चक्रवर्तीन्द्रको नाममा पाँच वर्ष लगाएर निर्माण सम्पन्न गरेका थिए । बालगोपालेश्वर मन्दिरको स्वरूप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुङ्गाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको ‘स्केच’बाट पनि प्रष्ट हुन्छ ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले भूकम्प र अन्य कारणले भत्किएका ऐतिहासिक सम्पदा पुनःनिर्माणको काम पहिलो प्राथमिकतामा रहेको बताउँदै आउनुभएको छ । यसै क्रममा ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि यही पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ । धरहराको निर्माणका लागि दुई वर्षको समय लाग्ने पनि सोही अवसरमा जानकारी गराइएको छ । भूकम्पले नै क्षति पुगेको काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरी धार्मिकरूपमा निर्माणको काम शुरु गरिसकिएको छ ।
रासस