काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेको मेला शुरु भएपछि पुष्प व्यावसायीहरु खुशी भएका छन् । शुक्रवारबाट ४ दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै पुष्प व्यावसायीहरु खुशी भएका हुन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् ।
प्रदर्शनीमा सहभागी पुष्प व्यावसायी सुमन महर्जनले २ वर्षपछि मेला हुँदा सबै व्यापारीहरुसँग भेट भएको र अब पुष्प व्यावसाय फस्टाउने बताउनुभयो । उहाँले सयपत्री फूल नेपालमा धेरै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीहरुले भारतबाट आयात गर्दा नेपाली बजारमा फूलै नभइदिएको जस्तो भएको बताउनुभयो । उहाँले भारतबाट ल्याएर बजारमा सस्तो दरमा बिक्री गरिदिँदा स्वदेशमा उत्पादन भएका फूल र मालाले बजार नपाएको बताउनुभयो ।
उहाँले केही व्यापारीहरुले आन्तरिक फाइदाका लागि भारतबाट फूल आयात गरिरहेको र सरकारले यसलाई रोक्नुपर्ने बताउनुभयो । पुष्प व्यवसायी महर्जनले भन्नुभयो, ‘आजबाट शुरु भएको पुष्प मेलाका कारण व्यावसायीहरु एकदमै खुशी छाँै, किनभने २ वर्षपछि यस्तो मेला भएको छ, व्यावसायीहरु पनि एकअर्कासँग भेट्ने मौका पाएका छन्, सबै एकै ठाउँमा हुँदा उत्साहीत छौँ, अहिले यहाँ ४४ वटा व्यावसायीक स्टलहरु छन्, सयपत्री फूलको पनि नेपालमा टन्नै उत्पादन छ तर भारतबाट आयात गर्न निकै सजिलो भयो, वर्षभर अरु व्यावसाय गरेकाहरु क्षणिक लाभ लिनलाई भारतबाट आयात गरेर बजारमा सस्तो रेटमा बेच्न थाले त्यसले आयात बढेको छ, व्यक्तिगत फाइदाको लागि व्यापार गर्दा नेपाली मालाले बजार पाएको छैन ।’
पुष्प व्यवसायी महर्जनले सरकारले भारतबाट जथाभावि फूल आयात गरेर बिक्री गर्नेहरुको निगरानी गरी निरुत्साहीत गरे नेपाली फूलले बजार पाउने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा रहेका खाली सरकारी जग्गालाई भाडामा पुष्प व्यावसाय गर्न दिनुपर्ने बताउनुभयो ।











