काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गर्दै अनैतिक बताउनुभएको छ ।
आज बालुवाटारमा बसेको बैठकमा ओलीले सभामुखले संसदमा अवरोध गरेको आरोपसहित बैठकमा धारणा राख्नुभएको थियो ।
बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उक्त बैठकमा सभामुखले असहयोग गरेको र उहाँ अराजक र अनैतिक बनेको आरोप प्रधानमन्त्री ओलीले लगाउनुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाउनुभएको बैठक सरकारबिरुद्ध मोर्चाबन्दीमा लागेका नेताहरुले भने बहिष्कार गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टी जसपाका नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव बैठकमा सहभागी हुनुभएको थिएन ।
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,जसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बैठकमा उपस्थित हुनुहुन्थ्यो ।












