१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कमी गरेसँगै राजधानीका सुरक्षा निकायद्वारा सञ्चालित पेट्रोल पम्पमा उपभोक्ताको भीड बढेको छ। निजी पेट्रोल पम्प सञ्चालकहरूले मूल्य घटाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै बिक्री–वितरण रोकेपछि सर्वसाधारण वैकल्पिक पम्पतर्फ पुगेका हुन्।

निगमले बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको आधारमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाइएको निगमले जनाएको छ।

मूल्यमा एकैपटक ठूलो कटौती गरिएको भन्दै निजी पेट्रोल पम्प सञ्चालकहरूले असन्तुष्टि व्यक्त गर्दै बुधबार काठमाडौं उपत्यकाका अधिकांश निजी पम्पबाट बिक्री–वितरण स्थगित गरेका छन्।

निजी पम्प बन्द भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पमा सवारीसाधनको चाप बढेको छ। विशेषगरी काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा मोटरसाइकल, स्कुटर र अन्य सवारीसाधनको लामो लाइन देखिएको छ।