१ असार २०८३, सोमबार
,
Latest
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताः विकास निर्माणमा महिला सहभागिता वृद्धि



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् । 

पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हुने विकास निर्माणका काममा पुरुषभन्दा महिला अब्बल हुन थालेका छन् । महिलाहरू साना सिँचाइ योजना, बाटो निर्माण खानेपानी योजना, भवन निर्माणमा सहभागी हुन थालेका छन् । बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुदाँ महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि समेत हुने गरेको पाइन्छ ।

सिदिङवा गाउँपालिका–३ का शिवमाया सिवालाई विगतका दिनमा चुलोचौकामै दिन बित्थ्यो । गाउँमा विकास निर्माणका काम त हुन्थ्यो, तर महिला जान पाउँदैनथे । आजभोलि बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा जानु सिवाको दैनिकी हो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा विकास निर्माणको काम हुन थालेपछि यहाँका महिलाको दैनिकी फेरिएको हो । उनी भन्छिन्, “हामीले बाटो र कुलो बनाउने काम गरिरहेका छौँ । पुरुषको भन्दा छिटो गरिरहेका छौँ ।” विकास निमार्णका सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको सिवाको भनाइ छ । उनीजस्तै ताप्लेजुङका ३०० महिला प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणमा प्रत्यक्ष काम गर्दै आउनुभएको छ ।

सिरिजङ्घा गाउँपालिका–३ का लीला गौतमले गत आइतबार आफ्नै नाममा खोलेको बैंक खाताबाट पैसा निकालेको पहिलोपटक हो । उनी अहिले २६ वर्षको हुनुभयो । आइतबार उनले बैंकबाट तलब लिएको पहिलो दिन हो । गौतमले भन्नुभयो, “म अहिले २६ वर्ष पुगेँ, मैले कुनै बैंकमा खाता खोलेको थिइनँ । प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भयो । बैंकमा खाता खोल्नुपर्छ भनेपछि गाउँपालिकामा रहेको बैंकमा खाता खोले । आज पहिलो महिनाको तलब रु १७ हाजर बैंकबाट निकालेँ ।” उनी मात्र होइन, सिरिजङ्घा गाउँपालिकाका ६३ महिलाले आइतबार पहिलो माहिनाको तलब निकासा गरेका छन् । 

सिरिजङ्घा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवेदनमा परेकामध्ये २१२ जना रोजगारीका लागि छनोटमा परेका छन् । तीमध्ये ६३ महिला रहेको सिरिजङ्घा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हिमाल तिमिल्सिनाले बताउनुभयो । ताप्लेजुङको नौ स्थानीय तहमा ३०० महिला अहिले बाटो निर्माण, सिँचाइ, कुलो मर्मतमा सक्रियरूपमा दैनिक काम गर्न आएका छन् ।  सिदिङवा गाउँपालिकामा २२० पुरुष र  ५३ महिलाले रु ५१७ का दरले दैनिक ज्यालामा सय दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार  पाइरहेको सिदिङवा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक फूलमाया पन्दाकले बताउनुभयो । 

यसैगरी मेरिङदेन गाउँपालिकामा  २६२ पुरुष र ६१  महिलाले प्रधानमन्त्री रोजगारी पाएका छन् । मैवाखोलामा २१२ पुरुष र ६१ महिला, सिरिजङ्घा गाउँपालिकामा २०८ पुरुष र ६३ महिला, पाथीभरायाङवरक गाउँपालिकामा २५६ पुरुष र ६६ महिलाले रोजगारी पाएका छन् । त्यस्तै फक्ताङलुङ गाउँपालिकामा १२७ जनाले रोजगारी पाएका छन् । फुङ्लिङ नगरपालिकामा ११२ महिला र १६८ पुरुषाले रोजगारी पाएको फुङ्लिङ नगरपालिकाका रोजगार संयोजक सरिता लिङदेनले बताउनुभयो । 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण कार्यमा महिलाको सहभागिता हुन पाउँदा खुशी लागेको फुङ्लिङ गाउँपालिका–९ का हरिकला गुरुङले बताउनुभयो । विगतमा पुरुषमात्र निर्माण कार्यमा जाने, महिला घरकै काममा दिन बिताउने गरेकामा पछिल्लो समय महिलाले विस्तारै स्वरोजगार बन्दै गएको सिरिजङ्घा गाउँपालिका रोजगार संयोजक हिमाल तिमिल्सिनाले बताउनुभयो । रासस