२३ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि
तपाईं के खोज्दै हुनुहुन्छ ?

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उहाँ लाग्नुभएको छ ।

दशकअघि देखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै डगौराले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आउनुभएको छ । “पहिले खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौँ, उत्पादन थोरै हुन्थ्यो,” उहाँले भन्नुभयो, “खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ ।”

त्यसैले यस प्रविधिमा लसुन रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । डगौराले पाँच कट्ठा जग्गामा लसुन रोप्ने गर्नु हुन्छ । यसबाट रु ९० हजार आम्दानी हुने गरेको छ । उहाँका अनुसार धान काटिसकेपछि चिस्यान रहेको खेतमा सिधै गाँजको बीचमा कुटोको सहायताले लसुनका पोटी ९केस्रा० रोप्ने गरिन्छ । चिस्यान नभएमा सिँचाइ गरी लसुन रोप्ने कार्य हुन्छ । लसुन रोपेपछि त्यसपछि गोठेमल छर्की परालले छोप्ने गरिएको अर्का किसान विनोद डगौराले जानकारी दिनुभयो ।

पिपलाडीका किसानले लसुनखेतीलाई नगदे बालीका रुपमा आत्मसात् गर्दै आएका छन् । प्रत्येक परिवारले एकदेखि पाँच कट्ठासम्म जग्गामा जिरो टिलेज प्रविधिबाट लसुनखेती गर्दै आएका छन् । एक कट्ठामा करिब दुई क्विन्टलसम्म उत्पादन हुने र याममा प्रतिकिलो रु तीन सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गर्दछ । यसबाट किसानले प्रतिकट्ठामा रु ३० हजारका दरले आम्दानी गर्दै आएका छन् ।

“पहिले खानकै लागि पनि लसुन किन्नुपथ्र्यो, अहिले घरको खपतपछि बाँकी बिक्री हुन्छ,” चामबहादुर डगौराले भन्नुभयो, “व्यापारी आफैँ घरमै आइपुग्छन् ।” स्थानीय बजार झलारी र महेन्द्रनगरमा जिरो टिलेजमा उत्पादन भएको लसुनको माग उच्च रहेको चुन्नुलाल डगौराले बताउनुभयो । “धानको गाँजमा बढेको लसुनको गानो ठूलो र खानमा स्वादिलो हुने भएकाले बजारमा चाँडै बिक्री हुन्छ,” उहाँले भन्नुभयो ।

जिरो टिलेज खेती प्रविधिले खेत जोत्नुपर्ने झन्झट र लागत घटाएको नगरपालिकाको कृषि शाखाका कृषि विकास अधिकृत विनयराज जोशीले बताउनुभयो । यस प्रविधिमा माटोको संरचना नबिगारी खेतको चिस्यानलाई नै उपयोग गरी बाली लगाइन्छ । उहाँका अनुसार जिरो टिलेज प्रविधिमा गरिने लसुनखेतीमा थोरै परिश्रममा धेरै आम्दानी हुने भएकाले पिपलाडीसहित नगरपालिकाको अन्य क्षेत्रका किसानको आकर्षण यस खेतीतर्फ बढ्दै गएको छ ।

“धान काटेको एकदेखि दुई दिनपछि गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसैमा कुटो वा अन्य फलामका औजारको सहायताले लसुन रोपिन्छ,” उहाँले भन्नुभयो, “त्यसपछि खेतमा १० सेन्टिमिटर बाक्लो पराल, भुस वा खरको छापो दिनुपर्दछ, यसले खेतमा चिस्यान कायम रहनाका साथै झारपात रोक्ने र माटोमा जैविक पदार्थ थप्ने काम गर्छ ।”

जिरो टिलेज प्रविधिमा लसुन रोप्दा गोडमेलको आवश्यकता नपर्ने र झारपात देखिएमा मात्रै हटाउनुपर्ने हुन्छ । यस प्रविधिबाट गरिएको लसुनखेतीले समय, श्रम र लागत घटाउनाका साथै जमिनको उर्वरा शक्ति कायम राख्छ । जलवायु अनुकूलनका दृष्टिबाट पनि यो प्रविधि प्रभावकारी छ । रोग कीरा व्यवस्थापनका लागि किसानले गाईको गोबर, गहुँत र निमको रसबाट बनेको घरेलु जैविक विषादी प्रयोग गर्दै आएका छन् ।