१२ असार २०८३, शुक्रबार
,
Latest
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या



अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताए। “कारागारमा स्वास्थ्यकर्मी हुनुहुन्न”, उनले भने, “कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ छ ।” उनका अनुसार तुलसीपुर कारागारमा गत असोजमा दरबन्दीका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि उपचारमा समस्या भएको हो । तुलसीपुर कारागारमा वार्षिक उपचार खर्च रु छ लाख आउने गरेको छ ।

तुलसीपुर कारागारमा ३७६ कैदीबन्दी रहेका छन् । घोराही कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि गएको असोजदेखि स्वास्थ्यकर्मीविहीन भएको जेलर विष्णु पाण्डेले जानकारी दिए । चिसोका कारण रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिएको उनको भनाइ छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी कारागारमा नआएको र बिरामीलाई अस्पताल ल्याउँदा लैजाँदा खर्च बढ्नुका साथ असहज भएको कारागार प्रशासनले जनाएको छ ।

चालू आर्थिक वर्षमा आएको रु एक लाख ८० हजार बजेटमा अहिलेसम्म रु साढे एक लाख उपचार खर्चमा सकिएको जेलर पाण्डेले जानकारी दिए । घोराही कारागारमा अहिले ३१५ कैदीबन्दी रहेका छन् । यस्तै दाङको घोराही कारागारका कैदीलाई शिक्षा दिन थालिएको छ । कारागारमा अहिले २० जना कैदीलाई शिक्षा दिन थालिएको जेलर पाण्डेले जानकारी दिए । कारागारलाई सुधारगृहका रूपमा विकास गर्न घोराही कारागारका कैदीबन्दीलाई शिक्षा दिन थालिएको छ ।

विभिन्न मुद्दामा कारागारको जीवन बिताइरहेका कैदीबन्दीलाई नैतिक र असल चालचलनसँगै सामाजिक शिक्षा दिन थालिएको कारागार प्रशासनले जनाएको छ । कारागारभित्रै ती कैदीबन्दीलाई ज्ञानज्योति स्कूल सञ्चालन गरेर शिक्षा दिन थालिएको घोराही कारागारका जेलर पाण्डेले जानकारी दिए । निरक्षर कैदीबन्दीलाई साक्षर बनाउने र सोचमा सुधार ल्याउनका लागि शिक्षा दिन थालिएको उनको भनाइ छ ।

कैदीबन्दीको मागअनुसार अङ्ग्रेजी भाषामा समेत कक्षा सञ्चालन थालिएको छ । कम्तीका कक्षा १२ पास गरेका र राम्रो आचारण भएका कैदीबाटै छनोट गरेर शिक्षा दिन थालिएको हो । पढाउने कैदी शिक्षकलाई पारिश्रमिक नभए पनि मासिक पाँच दिन कैद मिनाहको व्यवस्था रहेको जेलर पाण्डेले जानकारी दिए । कारागारमा करिब २० जना कैदीबन्दीले साँझ बिहान गरी चार घण्टा अध्ययन गरिरहेका छन् ।