१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष सफल बनाउन उपत्यकाका सफाइ अभियान चलाइने



अ+ अ-

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने भएको छ । ‘बेटर नेपाल’ नामक सामाजिक संस्थाको संयोजनमा पुस १२ गते शनिबारदेखि सम्पदा पैदलयात्रा एवं सफाइ अभियान शुरु गर्न लागिएको हो ।

अभियानमा राजनीतिक दलका शीर्ष नेता, पर्यटन व्यवसायी, खेलाडी, कलाकारलगायत अभियानकर्मी सहभागी हुने ‘वेटर नेपाल’ का अध्यक्ष माला खरेलले राससलाई जानकारी दिनुभयो । पुस १२ गते शनिबारदेखि चार हप्तासम्म अर्थात् माघ ४ गतेसम्म यो अभियान चलाइनेछ । पुस १२ गते शनिबार पशुपतिबाट वसन्तपुरसम्म पैदलयात्रासहित सफाइ गरिनेछ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलगायत सहभागी हुनुहुनेछ । कीर्तिमानी धावक मानन्धर उपत्यकाका सबै स्थानमा हुने पैदलयात्रामा सहभागी हुनुहुनेछ ।

पुस १९ गते शनिबार माइतीघर मण्डलाबाट स्वयम्भूसम्म सम्पदा यात्रासहित सफाइ गरिनेछ । मण्डलाबाट शुरु हुने पदयात्रासहितको सफाइ कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं सांसद गगनकुमार थापालगायत सहभागी हुनुहुने जनाइएको छ । पुस २६ गते ललितपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ गरिनेछ । यो कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा यात्रासहित सफाइ गरिनेछ ।

माघ ४ गते शनिबार भक्तपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ अभियान चलाइनेछ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहित अभियानकर्मीको सहभागिता रहने जनाइएको छ । हालसम्म चारवटै सम्पदा पदयात्रा एवं सफाइ अभियानमा सहभागी हुन २५ वटा संस्थाले नाम लेखाएको अध्यक्ष खरेलले बताउनुभयो ।

भ्रमण वर्षको शुरुआतमा सम्पदा क्षेत्रमा सफाइ गरी चिटिक्क देखाउन अभियानकर्मीसहित नागरिकस्तरबाट यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, स्थानीयवासी लगायतलाई सार्वजनिकरुपमा आह्वान गरिएको जनाइएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यस वर्ष २० लाखभन्दा बढी बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ । लक्ष्य पूरा गर्न नागरिकस्तरबाट यस्ता अभियान गरिनु आवश्यक रहेको अभियानकर्मीले जनाएका छन् ।