अस्टिन/ टेक्सास: सानै उमेरदेखि प्रकृति मन पराउने, हिमाल कस्तो होला भनेर जिज्ञासा राख्ने र हिमालयन पदयात्राप्रति लालायित हुने अमृत परियारले अन्ततः २०२६ को मे महिनाको २१ गते अर्थात् जेठ ७ गते राति १२ बजेर १६ मिनेटमा सगरमाथाको सफल आरोहण गरे।
सानो हिमाल चढेर भए पनि नाम राख्ने रहर बोकेका अमृतले आफ्नो रहर पूरा गर्दै नेपालमा बलात्कृत भई ज्यान गुमाएका र बाँचेका चेलीको न्यायको माग गरिएको ब्यानर सगरमाथाको शिरमा फहराए। बलात्कार, हत्या र नारीमाथिको हिंसा अन्त्य गर्न, उनीहरूलाई समयमै न्याय दिन सरकारसँग माग गर्दै सगरमाथाको शिरबाट आवाज उठाए। नारीहरू सुरक्षित बाँच्न पाउनुपर्छ भन्ने आवाजलाई सबैले सुन्ने गरी बुलन्द गर्न उनी झन्डै ४० दिनको चुनौतीपूर्ण यात्रा तय गर्दै पृथ्वीकै सर्वोच्च शिखरको उचाइमा पुगे।
माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमालको काखमा रहेको पर्यटकीय नगरी पोखरामा जन्मेर हुर्कँदै गर्दा अन्तर मनको कुनामा एक दिन हिमाल चढ्ने सपना कैद गरेर राखेका अमृत परियारले आफ्नो पहिलो हिमाल यात्राको सफल गन्तव्य भने सगरमाथालाई नै बनाए।
पोखरा–१९ तलकोट घर भएका अमृत सन् २०१८ देखि अमेरिकाको अस्टिनमा बस्न थालेका हुन्। हाल उनी ग्रेटर अस्टिनको हटो काउन्टीमा सपरिवार बस्छन्। उनको परिवारमा श्रीमती र दुई छोरीहरू छन्। बुबा, आमासहित परिवारका अन्य सदस्यहरू पोखरै बस्छन्। नेपाल छोडेर अमेरिका आए पनि अमृतको अन्तर मनको कुनामा मातृभूमिका अग्ला हिमालहरू सजिएर बसेका थिए। परदेशमा जीविकोपार्जनका लागि कडा परिश्रम र लामो खटाइ हुने भए पनि २–४ पैसा जम्मा गरेर उनलाई मौका मिल्नासाथ नेपाल गएर हिमाल नै चढ्नु रहर थियो। हिमाल चढेरै छोड्ने अठोट लिएका उनले सन् २०२० देखि यससम्बन्धी जानकारी लिन थाले। हिमाल चढ्न चाहिने प्राविधिक शिक्षा दिने कम्पनी, हिमालमा भरिया भएर सँगै जाने शेर्पाहरू र संस्थागत रूपमा आवश्यक सामग्री जुटाइदिने ट्रेकिङ कम्पनीहरूसँग उनले आफ्नो संगत बढाए।
उनले पहिलो पटक २०२२ मा मनास्लु हिमालको चुचुरोमा पुग्ने कोसिस नगरेका होइनन्, तर त्यतिबेलाको प्रयास सफल हुन सकेन। मौसममा आएको प्रतिकूलता र स्वास्थ्यमा समस्या आएपछि उनी ७५०० मिटरको उचाइमा रहेको बेसक्याम्पबाटै फर्कनु पर्यो। मनास्लु हिमाल मनसिरी हिमालयन रेन्जमा पर्ने ८ हजार १ सय ६३ अग्लो हिमाल हो। यो गोर्खा जिल्लामा पर्छ।
सन् २०२४ मा उनी फेरि अमेरिकाबाट नेपाल हानिए र आमादब्लम हिमालको चुचुरोमा पुग्ने प्रयासमा जुटे। आमादब्लम हिमाल नेपालको खुम्बु उपत्यकामा रहेको ६ हजार ८ सय १२ मिटर उचाइको सुन्दर हिमाल हो। हिमाल चढ्न बेसक्याम्पसम्म पुगेका उनी आकस्मिक रूपमा बिरामी परेपछि ४ हजार ४ सय मिटरमा रहेको बेसक्याम्पबाटै फर्किए।
दुईपटकको असफलताले पनि अमृतलाई कत्ति कमजोर बनाएको थिएन। उनको शिखर छुने रहर अदम्य थियो। त्यही रहर र दृढ संकल्पले उनलाई २०२६ को अप्रिलको पहिलो हप्ता फेरि अस्टिनबाट नेपाल पुर्यायो। नेपाल पुगेपछि सगरमाथाको शिखरमा पुग्ने अठोट गर्दै काठमाण्डौमा रहेको अल्टीप्रो एक्सपिडिसन कम्पनीसँग जोडिन पुगे।

उनको हिमाल यात्राका बारेमा जिज्ञासा राख्दै उनलाई भेट्न म उनको घरमै पुगेँ। उनको हिमाल यात्राको उत्प्रेरणा बारे जिज्ञासा राख्दा मन्द मुस्कानसहित उनले हिमाल चढ्नुको रहस्य खोले र भने: “प्रकृति अत्यन्तै मन पर्छ, प्रकृतिसँग जोडिएर नाम राख्ने रहर र चाहना सानैदेखि भएकाले मनले हिमालतिरै डोऱ्यायो।” नजिकै रहनुभएकी श्रीमतीतर्फ संकेत गर्दै उनले आफ्नो अभियानमा घरपरिवारबाट पूर्ण रूपमा सहयोग भएको बताए।
सगरमाथा यात्रा
अप्रिलको पहिलो हप्ता नेपाल पुगेका उनी सगरमाथा चढ्ने तयारीमा लागे। आफ्नो चालीस दिने यात्राका लागि काठमाण्डौबाट अप्रिल १२ गते उनी खुम्बुतिर लागे। काठमाण्डौबाट सगरमाथाको बेसक्याम्प पुग्न ८–९ दिन लाग्यो। उनी ३ दिन बेसक्याम्पमा आराम गरेर सुरुमा खुम्बु क्षेत्रमै रहेको ६ हजार १ सय १९ मिटर अग्लो लबुचे चुचुरो पुगे। सगरमाथाको नजिकै रहेको यो हिमाल निकै सुन्दर रहेको छ र यहाँबाट सगरमाथा झन् सुन्दर देखिने उनले सुनाए। लबुचेबाट बेसक्याम्प फर्केपछि उनी लुक्ला फर्केर पाँच दिन त्यहाँ बसे। लुक्लाबाट हवाई यात्रा हुँदै बेसक्याम्प फर्केर सगरमाथाको लागि तयारीमा जुटे।
मे महिनाको ११ तारिख राति २ बजे बेसक्याम्पबाट सगरमाथाको सर्वोच्च शिखरका लागि उनको यात्रा सुरु भयो। एक हप्ता लगाएर क्याम्प ४ सम्म पुगेका उनी मौसम र स्वास्थ्यमा समस्या भएपछि पुनः क्याम्प २ मै फर्किए। दुई दिन आराम गरे। क्याम्प ४ भन्दा माथि ८ हजार मिटर उचाइको क्षेत्रलाई सबैभन्दा चुनौतीपूर्ण मानिन्छ। यहाँको चुनौतीसँग सामना गर्न विशेष तयारीको जरुरी थियो। आवश्यक तयारी पूरा गरेर उनले पुनः मे १९ मा क्याम्प २ बाट यात्रा सुरु गरे। मे २० को बिहान ३ बजेतिर क्याम्प ४ पुगे। त्यस दिनको साँझ ४ बजेसम्म त्यही आराम गरेर बसे।
मे २० को साँझ ४ बजे सगरमाथाको चुचुरोमा पुग्ने अन्तिम खण्डको यात्रा सुरु भयो। यो क्षेत्रलाई मृत्यु क्षेत्र अर्थात् डेथ जोन (Death Zone) भनिन्छ।
यहाँको अवस्था निकै चुनौतीपूर्ण रहन्छ। उचाइ र धेरै चिसोको कारण यहाँ प्राणवायु अक्सिजनको कमी, फोक्सोमा पानी जम्ने, शरीरका अङ्ग विफल हुने, शरीर सुख्खा हुने, मस्तिष्क सुन्निने समस्यासँग सामना गर्नुपर्छ। यहाँको अवस्थाको वर्णन गर्दै अमृत भन्छन्: “साँघुरो गल्लीको दायाँबायाँ मानिसका लासहरू ठाउँ ठाउँमा भेटिन्थे।” अन्तिम ८ सय ५० मिटरको उचाइका लागि यात्रा सुरु गरेको आठ घण्टापछि मे २१ गते राति १२ बजेर १६ मिनेटमा उनले चुचुरोमा पाइला टेके।
विश्वको सर्वोच्च शिखरबाट बलात्कार पीडित महिलालाई न्यायको माग गर्न आफूसँग लिएर गएका महिला हिंसा र बलात्कारमा ज्यान समेत गुमाएकी महिलाका फोटो र नेपाल सरकारसँग तिनका लागि न्यायको माग गरिएको ब्यानर निकालेर छातीमा टाँसे, साथमा गएका शेर्पा ओम गुरुगले उनको तस्विर खिचिदिए। करिब ३० मिनेट शिखरको बसाइपछि हलुङ्गो मन र अनन्त खुसी लिएर उनी फर्किए।












