
गोरखा । निर्माण सम्पन्न गर्ने मिति तीन महिना बाँकी रहँदा गोरखा दरबार पुनर्निर्माणको काम जगमै सीमित भएको छ । मंसिरमा ठेक्का सम्झौताको म्याद सकिन्छ । तर, यो अवधिमा काम सम्पन्न नहुने भएको हो ।
‘तीन महिनामा ७० प्रतिशत काम सकिँदैन,’ पुरातत्त्व विभागअन्तर्गत गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसाल भन्छन्, ‘यही गतिमा अघि बढे पनि तीन महिनामा दुई तला बन्छ कि १’ प्राविधिक अप्ठेराका कारण ३३ महिनामा जगको काम मात्र हुन सकेको उनले बताए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २९ कात्तिक ०७४ मा ठेक्का सम्झौता भएको थियो । पचली भैरव सिभा जेभीले दरबार पुनर्निर्माण गरिरहेको छ ।
भुसालका अनुसार कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगरेकाले थप समय दिने वा नदिनेबारे कुनै निर्णय भइसकेको छैन । ‘कम्पनीले काम गर्न धेरै ढिला गर्यो । केही समस्या पनि थिए । काठको अभाव थियो, काठ नहुँदा काम गर्नेहरू पनि घर जाँदा काम ढिलो भयो,’ उनले भने, ‘अब त्यो अवस्था पार भएकाले समस्या नआउला । तैपनि काम गर्न कम्पनीलाई थप समय दिने वा के गर्ने भन्ने निर्णय भएको छैन ।’
पचली भैरव सिभा जेभीले चार करोड ३३ लाखमा पुनर्निर्माणको जिम्मा पाएको थियो । दरबार जगैदेखि भत्काएर पुनर्निर्माण थालिएको हो । पृथ्वीनारायण शाहले राज्य गरेको ऐतिहासिक दरबार मौलिक शैलीमै निर्माण भइरहेको छ । दरबार पुनर्निर्माणका क्रममा पुराना काष्ठकलाका सामग्री र इँटासमेत यत्रतत्र छरिएका छन् । तर, अड्डाले भने पुराना सामग्रीलाई पूर्ण रूपमा संरक्षण गरिएको बताएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












