
मोरङ । मोरङको सुन्दरहरैचा–१ कुमार गाउँका प्रकाश घिमिरे दिन बिराएर घरनजिकै रहेको आफ्नै तरकारीबारीमा गएर गोडमेल गर्छन् । उनले तरकारीबारीमा काम गरेबापत प्रतिघन्टा एक सय रुपैयाँका दरले ज्याला पनि पाउँछन् । त्यस्तै, विशाल बजगाईं पनि दिन बिराएर तरकारीबारीमै काम गर्छन् र प्रकाशले जसरी नै ज्याला लिन्छन् ।
उनीहरूजस्तै कुमार गाउँका ४५ जना मिलेर एक कृषक समूह खोलेर केही महिनादेखि तरकरी खेती गर्न थालेका छन् । सयपत्री कृषक समूह खोलेर तीनै समूहका २० जना मिलेर सामूहिक खेतीको अभ्यास सुरु गरेका हुन् । बजगाईं र घिमिरे सयपत्रीका सदस्य हुन् । ‘पहिला हामी पनि नोकरी गथ्र्यौँ,’ घिमिरे भन्छन्, ‘अहिले हाम्रै खेतीबाट आफैँले काम गरेको पैसा लिन्छौँ ।’
उनीहरूले गत वैशाखदेखि सामूहिक खेती थालेका हुन् । अहिले बारीमा भिन्डी र लौका तथा धान रोपेका छन् । एक बिघा ३ कट्ठा लिजमा लिएर खेती गरेका हुन् । अहिले भिन्डी र लौका बेचिरहेका छन् भने धान खेतमा लहलह देखिन थालेको छ । ‘वर्षको ५० हजार तिर्ने सर्तमा जग्गा लिजमा लिएका छौं,’ विशालले भने, ‘हामी अरूकोमा ज्याला, मजदुरी गर्नेहरू मिलेर सामूहिक खेती थालेका हौँ ।’
६–७ जनाको ३ समूह बनाएर पालो–पालो खेतबारीमा काम गरिरेहका छन् । सबै लगानी समूहकै हो । ज्याला र खर्च कटाएर बचेको सबै पैसा समूहमै जम्मा हुन्छ । समूहको ७० हजार लगानीमा उनीहरूले खेती थालेका हुन् ।
उनीहरूले उत्पादन गरेको भिन्डी प्रतिकिलो १५ रुपैयाँदेखि ४० रुपैयाँसम्ममा किनबेच हुने गरेको छ । ‘स्थानीय बेलबारी, विराटचोकलगायतका व्यापारी आएर बारीबाटै लान्छन्,’ बजगाईंले भने, ‘बजारसम्म बेच्ने पहुँच हाम्रो पुग्न सकेको छैन ।’ रायो साग र लोकल धनियाँ बारीमा छरिसकेका छन् । उनीहरूले खेती गर्ने नजिकैको पसलमा एउटा सूचनापाटी नै टाँसेर राखेका छन् । उनीहरूले रोप्नेदेखि गोडमेल र टिप्नेसम्मको सूचना टाँसेर काम गर्ने गर्छन् ।
खोलाले कुलो बगाउँदा भने सिँचाइमा समस्या भइरहेको उनीहरू बताउँछन् । लोहान्द्रा खोलाबाट उनीहरूले सिँचाइ गरेका छन् । उनीहरूले खोला व्यवस्थित गरिदिनसमेत सरकारसँग आग्रह गरे ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












