१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

खण्डहर बनेको तातोपानी नाकामा चहलपहल शुरु, स्थानीयवासीको अनुहारमा लोभलाग्दो उत्साह



अ+ अ-

तातोपानी । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन् । गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ ।

सम्भवतः यही जेठ १७ गते २०७२ साल वैशाख १२ गतेदेखि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउँदैछ । विगत केही दिनदेखिको काम हेर्दा लाग्छ चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ ।

नाका खुल्दैछ भन्ने सुनेका स्थानीयवासी असाध्यै खुसी भएका छन् । होटल, गेस्टहाउसहरुमा पनि नयाँ मान्छे देखिन थालेका छन् । उनीहरुको अनुहारमा देखिने उत्साह साँच्चै लोभलाग्दो छ । वर्षौँ नाका नखुल्ने भयो भनेर पलायन भएकाहरु फर्किएर आएका छन् ।

नेपाल सरकारको पटकपटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । नाका खुल्ने पहिलो दिन साङ्केतिकरूपमा तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्ने छन् । ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् ।

मितेरी पुल नजिकै भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेको छ । केही समयपछि ती कार्यालय तातोपानी नाका नजिकै स्थापना भएको सुक्खा बन्दरगाहमा सर्नेछन् । सीमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तैनाथ भइसकेको छ ।

चार वर्षदेखि नाकाको भन्सार कार्यालय कुरेर बस्नुभएका धेरैले साइँला भनेर चिन्ने तिलकबहादुर मगर अरुभन्दा बढी खुसी रहेका छन् । कार्यालय सहयोगीका रूपमा रहनुभएका मगर पहिलेको जस्तै नाका व्यस्त होला र धेरैले लाभ पाउलान् भन्ने अपेक्षामा रहेका छन् ।

नाका बन्द भएपछि धेरै व्यवसायी पलायन भए । दैनिक चल्ने एक हजार बढी कन्टेनर अन्यत्रै जान वाध्य भए । होटल व्यवसाय चौपट भयो । गाउँपालिका प्रमुख राजकुमार पौडेल भन्छन्, ‘हामीले स्थानीयवासीलाई नियमितरूपमा प्रशिक्षित गरेका छौँ । लामो प्रयासपछि खुल्न लागेको नाकालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्छ । छिमेकी देशविरुद्ध हुने कुनै पनि गतिविधि हाम्रा लागि मान्य छैन ।’भुइँचालोपछि सुनसान जस्तै बनेको तातोपानी धारामा नुहाउन जानेको सङ्ख्यामा पनि बढोत्तरी भएको छ ।

नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भने, ‘हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ ।’ भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्रमा बढेको चहलपहलले शेर्पालाई खुसी तुल्याएको छ ।

सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटा भन्छन्, ‘लामो र अथक प्रयासले सार्थकता पाउँदैछ । गरे के हुँदो रहनेछ भन्ने पनि स्थापित भएको छ ।’

‘भूकम्प गए लगत्तै बन्द भएको नाका खुलाउन चार वर्षको बीचमा दर्जनौ पटक तत्कालीनदेखिदेखि वर्तमानसम्मका प्रधानमन्त्री, पार्टीका शीर्ष नेता, यहाँस्थित चिनियाँ दूतावास तथा कुटनीतिक रुपमा पनि ठूलो प्रयास गरेको उनले सुनाए ।

सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक हिरासिंह महरा शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताए । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कृष्ण बस्नेत नाका सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए ।

गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पनि अध्यागमन कार्यालय स्थापना गरेको छ ।