९ असार २०८३, मंगलवार
,
Latest
एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमजनतालाई सुसूचित गराउने राससको दायित्व अझ बढेको छ : प्रम देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने राष्ट्रिय समाचार समिति (रासस)को दायित्व अझ बढेको उल्लेख गर्नुभएको छ ।

राससको ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उहाँले सूचना र प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको अवस्थामा रासस जस्ता राज्यका समाचार संस्थाको दायित्व अझ बढेको उल्लेख गर्नुभएको हो ।

मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री देउवाले राससले पनि आफ्नो स्थापनाकालदेखि नै परिवर्तनको पक्षमा निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको भनी उल्लेख गर्नुभएको छ । पछिल्लो समय गलत र भ्रामक समाचार पनि बढ्न थालेको सन्दर्भमा राससले तथ्यपरक समाचारलाई प्राथमिकता दिएर राज्यको नीति र कार्यदिशालाई रचनात्मक ढङ्गले प्रभावित गर्न सक्ने स्वस्थ र सिर्जनशील जनमतको निर्माण गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले सुदृढ लोकतन्त्र, दिगो विकास र आर्थिक समृद्धिका पक्षमा सञ्चार वकालत गर्नेतर्फ राससको विशेष ध्यान जाने विश्वास व्यक्त गर्दै राससले आफ्ना सेवाहरुलाई समयानुकूल समयसापेक्ष रूपमा परिमार्जन गर्दै विविधीकरणतर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल सरकार राससलाई एक सशक्त, प्रभावकारी र सुदृढ संस्था बनाउन सदैब प्रयत्नशील रहने उल्लेख गर्दै उहाँले राससले आफ्ना सेवालाई चुस्त, प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने बताउनुभएको छ । राससले आफ्ना सेवालाई अझै प्रभावकारी बनाउन कर्मचारी र पत्रकारहरुलाई समयानुकूल प्रविधिको विकाससँगै यस क्षेत्रका नयाँ आयामका विषयमा पनि तालिम तथा क्षमता वृद्धि गराउनुपर्र्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले वार्षिकोत्सवका अवसरमा राससले राज्यका सबै पक्षका सुभावना मुखरित गर्दै आफूलाई एक अब्बल र नेतृत्वदायी सञ्चार माध्यम बनाउन सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सरकारका तर्फबाट उत्तरोत्तर प्रगतिका लागि राससको व्यवस्थापन, कर्मचारी एवं पत्रकार, सेवाग्राही तथा शुभचिन्तक सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।