१६ असार २०८३, मंगलवार
,
Latest
विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी सहिदकी दिदी सुशीला भन्नुहुन्छ, ‘मेरो भाइको नाममा सालिक बनाइयोस्’



अ+ अ-

काठमाडौँ । पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गर्नुभयो । हालखबर सोध्दै जितिया मनाउन र काठमाडौँ घुम्न आउनु भनेर प्रस्ताव गर्नुभयो । सुशीलाले जेनजी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गर्नुभएको थियो । फोनमै सुशीलाले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गर्नुभएको थियो ।

तर दिदीभाइ कुरा भएको केही घण्टापछि अप्रिय खबर सुन्न थालियो । भाइ बुहारी(विजयकी श्रीमती)को आत्तिएको स्वरमा फोन आयो, “दिदी विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ । उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे । के गर्ने ?” विजयलाई छातीमा गोली लागेको थियो । विजय नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उहाँमाथि गोली प्रहार भएको थियो ।

हेटौँडामा बस्दै आउनुभएकी सुशीला सोही दिन जानसक्ने अवस्था थिएन । उहाँ भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पतालमा भाइको खोजीका लागि जानुभयो । सबै वार्ड हेर्दा पनि विजय भेटिनुभएन । कसैले एकपटक त्रिवि शिक्षण अस्पताल जानु भनेर भन्यो । सुशीलाले भोलिपल्ट भाइको शव देख्नुभयो ।

सुशीला भावुक हुँदै भन्नुहुन्छ, “घरको सबै जिम्मेवारीको उसले लिएको थियो । जेठो भाइलाई पनि पढाएको थियो । घरको एक्लो खम्बा ढल्यो । ऋण लिएर भाइले घर बनाएको थियो । मेरो बिहेमा पनि उसले आर्थिक सहयोग गरेको थियो ।”

सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा हुनुहुन्छ । काठमाडौँको जडीबुटी बस्ने विजय विगत १० वर्षदेखि इलेक्ट्रिसयनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । सामान्य किसान परिवारमा जन्मिनुभएका विजयले घरपरिवार हेर्न भनेर नै ‘प्लस टु’ पछि पढाइ छोड्नु परेको थियो । आफूले नपढे पनि दाइलाई पढाउँछु भनेर घरको रेखदेखसँगै दाइ अजयलाई उहाँले इञ्जिनियरिङ पढाउन सहयोग गर्नुभएको थियो ।

विजय बितेपछि चौधरी परिवार शोकमा डुबेका छ । परिवारले अब गर्ने भनेर सोच्न सकेका छैन । इञ्जिनियिरिङको पढाइ सकेर बस्नुभएका विजयका दाइ अजय कामको खोजीमा हुनुहुन्छ ।

गाउँले र अन्य चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा यही भन्थे– अनुहार पनि उस्तै । आहा कस्तो मिलेका दाजुभाइ । ठ्याक्कै राम लक्ष्मणजस्तो । मीठो बोली व्यवहार ।

हुन पनि वियज परिवारप्रति व्यावहारिक र जिम्मेवार हुनुहुन्थ्यो । त्यसैले उहाँ सबैको प्यारो हुनुहुन्थ्यो । आमाबुवाको आँखामा उहाँ हिरा हुनुहुन्थ्यो । अहिले कसैले भाइको बारेमा सोध्दा बोल्न गाह्रो हुन्छ अजयलाई । मनमा गाँठो पर्छ । अजय भावविह्ल हुँदै भन्नुहुन्छ, “उसको कुरा गर्दा पनि आँसु आउन खोज्छ । म कहिल्यै नरुने मान्छे । उसको मृत्युले मलाई धेरै रुवाएको छ । ऊ हुँदा केही कुराको पनि तनाव हुँदैन थियो । ऊ नभएपछि घरको सहारा नै टुटेको छ ।”

अजय मानिसलाई पुर्नजीवन गराउने कुनै मेसिन भएको भए भाइलाई फेरि जीवित भएको देख्न पाए हुन्थ्यो भनेर कल्पिनुहुन्छ । “मेरो भाइ सीपयुक्त थियो । राम्रो कमाउँथ्यो । घरको सबै जिम्मेवारी लिएको थियो । मलाई पढाएको थियो । मैले जति अरु कसले गुमायो होला र ?” उहाँ बोल्दा बोल्दै रोक्किनुहुन्छ ।

विजयका आफन्त दाइ अमित चौधरी विजयलाई इमान्दार व्यक्तिका रूपमा सम्झिनुहुन्छ । अमित भन्नुहुन्छ, “देशको बलिदानका लागि लडेको थियो । सरकारले प्रतिबद्धता गरेको सबै चिज प्राप्त गरोस् उसको परिवारले ।”

विजयका बुवा दमको रोगी हुनुहुन्छ । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा रहनुभएका विजय नभएपछि उहाँको तीन वर्षको छोरीको भविष्य अन्योल छ । विजयकी दिदी सुशीला सरकारले बुहारीलाई रोजगारी दिनुपर्ने र छोरीको उच्च शिक्षासँगै स्वास्थ्य बिमाको पनि सुनिश्चितता गर्दिनुपर्ने बताउनुहुन्छ ।

जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका विजय अब सम्झनामा मात्र हुनुहुन्छ । “सबै कुरा उसैले त हेरेको थियो । ऊ फर्केर आउँदैन थाहा छ । कम्तीमा उसको मृत्यु भएको ठाउँमा सरकारले सालिक बनाइदियोस्”, दिदी सुशीला भन्नुहुन्छ । बुनु थारु/रासस




भर्खरै