
काठमाडौं । वैवाहिक अंगीकृत नागरिकताको विषय उपसमितिले टुंगो लगाउन नसकेपछि यही अधिवेशनमा नागरिकता विधेयक टुंगो लगाउने गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गृहकार्य अघि बढाएको छ । एक वर्षदेखि समितिमा अड्किएको नागरिकता ऐन संशोधन गर्ने विधेयकको करिब सबै विषय टुंगिए पनि वैवाहिक अंगीकृत नागरिकतालगायत केही विषय मात्रै मिल्न बाँकी भएकाले अब छलफल विवादित विषयमा केन्द्रित हुने समितिले जनाएको छ ।
‘कतिपय माननीयहरू यतिवेला राजधानी बाहिर हुनुहुन्छ । काठमाडौंमा उपलब्ध हुनासाथ समिति बैठक बस्छ । अब समितिले नागरिकता विधेयकमाथिको विवाद समाधान गर्नेबारे छलफललाई अगाडि बढाउँछ,’ समिति सभापति शशी श्रेष्ठले भनिन् । संघीय संसद्को जारी चौथो अधिवेशनमा नै सहमतिको प्रतिवेदन बुझाउने गतिमा छलफल अघि बढाउने उनले बताइन् । ‘यसअघिकै अधिवेशनमा टुंगो लाग्ने ठानेर हाउसमा पेस गर्ने प्रतिवेदनको खाका बनाएरसमेत राखियो । अन्तिममा यिनै विषयमा कुरा अड्किएपछि पेस हुन पाएन । अहिलेकै अधिवेशनमा प्रतिवेदन हाउसमा प्रस्तुत गर्ने गरी अब हामी बैठक राख्छौँ,’ उनले भनिन् ।
वैवाहिक अंगीकृत नागरिकतासहित विधेयकका मुख्य विषयमा सहमति जुट्न नसक्दा ०७५ को साउन २२ गते दर्ता भएको विधेयक संसदीय समितिमै रोकिएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यही विधेयकमाथि दर्जनौँपटक छलफल भए पनि मुख्य विवाद समाधान भएको छैन ।
उपसमितिले दियो अपूर्ण प्रतिवेदन
दुई सप्ताभित्र वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषय टुंगो लगाउन भन्दै गत ७ चैतमा राज्य व्यवस्था समितिले उपसमिति गठन ग¥यो । नेकपा सांसद विजय सुब्बाको संयोजकत्वमा गठित समितिले यही विषयमा पटक–पटक छलफल गरे पनि सहमति जुटाउन सकेन । ‘उपसमितिले प्रतिवेदन बुझाएको छ । वैवाहिक अंगीकृत नागरिकताको विवाद मिलाउने जिम्मा अब फेरि समितिमा आएको छ । कसरी टुंगो लगाउने भन्नेबारे समितिमा छलफल हुन्छ,’ समिति सभापति श्रेष्ठले भनिन् । राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेर वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विवाद समाधान गर्न भन्दै समितिले उपसमिति बनाएको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












