काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक–साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् । नगरले वर्ष दिन अघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतिर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो । मकर मेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ ।
बाह्र बर्षे मकर सङ्क्रान्तीमा पनौतीमा मकर मेला लाग्ने गर्दछ । मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाटसमेत तिर्थालु आउने गरेका छन् । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । उक्त स्थानमा थप भौतिक संरचनासहित मेला ब्यवस्थित बनाउन नगरले थुप्रै योजना अघि सारेको छ । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था छ ।
एक महिनासम्म लाग्ने उक्त मेलालाई थप ब्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट विपी राजमार्ग जोड्ने सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नती भइरहेको छ । नगरले निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती आशापुरी सडकलाई स्तरोन्तती (पक्की) गरी यथासक्य सञ्चालनमा ल्याइने नगरप्रमुख भिम न्यौपानेले बताउनुभयो ।
न्यौपानेका अनुसार स्तरोन्नती भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कमगर्न निर्माणाधीन पनौती–बनेपा (पुण्डमाता करिडोर) ले निकै राहत दिलाउनेछ । “पनौती आउने विभिन्न सडकलाई मर्मत–सम्भार एवं स्तरोन्नती गर्दा धर्मालम्बीलाई सजिलो हुने अपेक्षा गरेका छौँ” न्यौपानेले भन्नुभयो । पनौती सङ्घीय राजधानी काठमाडौबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।
मेला सम्पन्न गर्न नगरप्रमुखको उपस्थितिमा हालै एक दर्जन उपभोक्ता समिति गठन गरिएका छन् । ती समितिले यसैवर्ष आगामी पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिँगार्नुपर्ने जिम्मेवारी दिइएको छ । यसमध्ये पनौतीभित्रका मठ–मन्दिर तथा पाटीहरुमा रङ्गरोगन तथा झल्लर–तोरणले भिलीमीली बनाइने मुख्य काम हो । साथै पनौती प्रवेश गर्ने मुख्य नाकाहरुमा स्वागतद्वार निर्माण गर्नुपर्नेछ । यीसहित भौतिक निर्माणका लागि चालू आर्थिक वर्षदेखि नै नगरले रु तीन करोडभन्दा माथि बजेट छुट्याइएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।
मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानको लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायँबाँया पैदलमार्ग, विश्रामस्थल लगायतका भौतिक संरचना द्रुत गतीमा अघि बढिरहेको न्यौपानले बताउनुभयो । उहाँका अनुसार नगरले ढुङ्गेधारा मर्मत, थप धाराहरुको ब्यवस्था, फूटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङ्गटीले छाउने, रथहरुको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तिको पर्याप्त ब्यवस्था गर्ने नगरको योजनामा उल्लेख गरिएको छ । साथै, पनौतीबाट चल्ने सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएको स्टिकर तथा फ्लेक्सहरु टाँगिनेछ ।
नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चारवटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यक क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ । मेला अवधभिर मल्पी ड्यामबाट नियमित रुपले रोशी खोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइनेछ । यसका लागि मकर मेला सुरुहुनु हप्तापहिले खानी तथा खानीजन्य उत्खनन्, पैठारी बन्द गर्ने योजना बनाइएको छ ।
राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ । भारतको प्रयागमा गंगा र यमूना नदीको संगममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दुध बग्ने नदीपद्यमावती मानिँदै आइएको छ ।
स्कन्दपूराणअन्तर्गत हिमवत् खण्ड (नेपाल महात्म्य) मा बर्णन गरिएअनुसार परापूर्वकालमा श्रृष्टिकर्ता परब्रम्हाले ‘अहिल्या’ सुन्दरुी सिर्जना गरी दश इन्द्रीया बसमा राख्नसक्ने गौतम ऋषिलाई नासोको रुपमा सुम्पिएपछि यो कुरा थाहा पाएका देवराज इन्द्र अहिल्याको रुपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्वहरण गरेका थिए । स्नान गरी फर्कँदा इन्द्रबाट अहिल्याको सतित्वहरण भएको थाहा पाएपछि रिसले चूर भएका ऋषिले उनलाई जुन वस्तुमा वढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएपछि इन्द्रको शरीरमा हजारौँ योनी पाप चिन्हका रुपमा देखिएको थियो ।
सतित्वहरणपछि पत्थरझैँ विवेकहिन अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएका र त्रेतायूगमा मर्यादा पुरुष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्सपछि अहिल्याको श्राप मोचन हुने भनिएको छ । पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला) लाई काठमाडौँको काष्ठमण्डपपछि पूरानो कलाकौशलयुक्त मन्दिरको रुपमा गनिएको छ । शरीरभरी योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या÷भक्ति गर्दा पापमुक्त भएपछि सोही बेलादेखि मकर मेला निरन्तर रुपमा चल्दै आएको जनविश्वास रहेको छ ।
अर्को किंवदन्तीअनुसार पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिकहरु फुल्चोकी माईकहाँ पूजापाठ गरी पानी माग्थे । दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहेपछि फुल्चोकी माताले जसले पहिलो चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भन्नुभएको थियो । यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले ती फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफुसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मूलाको फुल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाईभन्दा मूला, तोरी र साग खेती गर्नेलाई पानीको अभाव छ भन्दै खुशी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाईदिनुभएको थियो ।
छ बर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफुहरुलाई पनि बरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन् । यसपछि छ÷छ वर्षको अन्तरमा गोदावरी मेला र १२÷१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ । जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणी संगममा हरेक वर्षको माघ महिनामा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याएर दुई दिनसम्म राखिने पनि गरिन्छ ।
पच्चीस वर्षपछि ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै पनौती
ऐतिहासिक, धार्मिक–साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्र संघीय निकाय (युनेस्को) द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको समेत नगरले जनाएको छ ।
सूचीकृतको अन्तिम प्रक्रियाका लागि मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गतसाल नै अघि बढाइएपछि युनेस्कोको नेपालप्रमुख क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा मनहर्टले विशेष रुचीपूर्वक मठमन्दिर तथा पूराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न यूनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको थियो ।
“हामी बाह्रबर्षे मकर मेला (२०७८ माघ) अगावै विश्व सम्पदा सूचीमा सूचीकृत हुने तयारीमा छौँ, चालू आर्थिक बर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ” नगरप्रमुख भिम न्यौपानेले भन्नुभयो । उहाँका अनुसार नगरले चालू आर्थिक वर्षमा विश्व सम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया अन्तिम चरणमा पु¥याइएपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिनुभयो । उहाँले “मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सो निर्णयको आधारमा यूनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ ।”
सूचीकृतको यस प्रक्रियामा आफुद्वारा पुनःनिर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ । उहाँका अनुसार नगर कार्यालयद्वारा साँस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती यूनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष साँस्कृतिक महत्व राख्ने (जस्तै ः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ ।
पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । यूनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको वेवास्ताले सूचीकृतको काम अन्यौलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताउनुभयो । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पूराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ ।
पनौती नपाको वडा नं ५, ६ र ७ नंवरमा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो ।
पुरातत्व विभागका अनुसार नेपालका चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौ उपत्यका (उपत्यका सात क्षेत्र ः काठमाडौ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये सूचीकृतमा पनौती पहिलो हुने देखिएको छ । राजकुमार पराजुली/रासस












